२०८२ भाद्र ३ गते मंगलवार
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ। आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई सहमतिका लागि ११ बजे बोलाएको हो। अहिले नेताहरु निर्वाचन आयोग पुग्ने क्रम शुरु भएको छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षलाई सहमतिका लागि बोलाइएको जानकारी दिए।
‘सहमतिका लागि दुवै पक्षलाई बोलाएको छौं। सहमतिको अन्तिम प्रयास गर्छौ,’ श्रेष्ठले भने, ‘दुवै पक्षबीच सहमति नभए निर्णय गर्ने प्रक्रिया सुरू हुन्छ।’
जसपाका दुवै पक्ष आ-आफ्नो अडानमा रहेकोले सहमतिको सम्भावना क्षीण देखिएको छ।
अध्यक्ष यादवले असार ४ गते आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।
अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रना शुक्ललाई उपेन्द्र पक्षले कारबाही गरेको थियो। लगत्तै ठाकुर पक्षले पनि अध्यक्ष यादवलाई कारबाही गरेको थियो।
तर, आयोगले दुवै पक्षले एक अर्कालाई गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष यादवले आधिकारिकताको दाबी गरेका थिए।
अर्का अध्यक्ष ठाकुरले कार्यकारिणी समिति पूनर्गठन गरिएको भन्दै अद्यावधिक गर्न आयोगमा निवेदन पेश गरेका छन्। यद्यपि, ठाकुर पक्षले कार्यकारिणी समिति अद्यावधिक गर्न दिएको निवेदनमाथि आयोगले कुनै निर्णय गरेको छैन।
उपेन्द्र पक्षले एकताका लागि महन्थ पक्षले गल्ती स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने शर्त राखेको छ।
यता, महन्थ पक्षले पूनर्गठित कार्यकारिणी समितिको मान्यतालाई सहमतिको ‘बटमलाइन’ बनाएको छ।
छलफलका लागि महन्थ पक्षबाट लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, सुरेन्द्र झा, केशव झा र मुकेश मिश्र आयोग जाने भएका छन्।
यसैगरी अर्को पक्षबाट संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ र प्रकाश अधिकारी आयोग पुग्दैछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij