२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । रोल्पाको थबाङमा पहिरोले घरहरु पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनामा अरु ९ जना बेपत्ता भएका प्रहरीले जनाएको छ।
थवाङ गाउँपालिका- ५ कोटलबारामा गएराति अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठहरु पुरिँदा ३ जनाको मृत्यु भएको हो। घटनामा २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
बुधबार राति ८:४० बजेतिर पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित स्थानीयका ६ वटा घरगोठ पुरिएका श्रेष्ठले जानकारी दिए। ती घर-गोठमा मानिससँगै पशु, चौपायाहरू पनि पुरिएका छन्।
‘अहिलेसम्म हामीलाई प्राप्त सूचनाअनुसार घटनामा तीन जनाको शव फेला परेको छ, अरु नौ जना बेपत्ता भएका छन्,’ श्रेष्ठले भने, ‘दुई जनालाई घटनास्थलबाट गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ।’
उनले पहिरोमा पुरिँदा मृत्यु भएका ३ जनामध्ये ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरको सनाखत भएको बताए।
२२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर पहिरोमा परेर गम्भीर घाइते भएका छन्। घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्छ।
राति ११स्५५ बजे स्थानीयसमेतको सहयोगमा हिमाल र २५ वर्षीय संजयलाई घाइते अवस्थामा उद्धार गरिएको हो। उनीहरूलाई उपचारको लागि अस्पताल पठाउने पहल भइरहेको छ। घटनास्थलमा फोन सम्पर्कसमेत नहुँदा सूचना संकलनमासमेत समस्या भइरहेको श्रेष्ठले बताए।
‘प्रहरी गएराति नै घटनास्थलमा पुगेर घाइतेको उद्धार र बेपत्ताको खोजिगरिरहेको छ,’ इन्सपेक्टर श्रेष्ठले भने, ‘मृतक र बेपत्ता कति घरका मानिस हुन्, त्यो पनि खुल्न बाँकी छ।’
उनले आज बिहान रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर श्रेष्ठ, प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखु पनि घटनास्थलमा जाँदै गरेको बताए। राति साढे नौ बजे घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
बिहीबार बिहान उज्यालो नहुँदै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली घटनास्थलतमा खटिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij