२०८३ आश्विन ३० गते शुक्रवार
काठमाडौं । रुसको कामचट्का प्रायद्वीपमा भूकम्प गएको छ । शुक्रबार बिहान ६.९ म्याग्निच्युडको भूकम्प गएको हो । रुसी विज्ञान एकेडेमीको भूभौतिकी सेवाको कामचट्का शाखाका अनुसार, भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल कुनै आधिकारिक विवरण प्राप्त भएको छैन ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)लाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ३ः३५ बजे ओजर्नोभ्स्कीबाट ७६ किलोमिटर उत्तरपूर्वमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु १४३.२ किलोमिटर गहिराइमा रहेको प्रारम्भिक अनुमान छ । यसको स्थान ५२.०१ डिग्री उत्तरी अक्षांश र १५७.२५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।
रुसी समाचार एजेन्सी तासका अनुसार, भूकम्पको धक्का महसुस भएपछि क्षेत्रीय प्रशासनिक केन्द्रका धेरै बासिन्दा सावधानीका लागि घर र अपार्टमेन्टबाट बाहिर निस्किएका थिए । भवनभित्रका बत्ती र झुमर तीव्र रूपमा हल्लिएका थिए । स्थानीय बासिन्दाले भूकम्पको धक्का स्पष्ट महसुस भएको र करिब एक मिनेटसम्म जारी रहेको बताएका छन् ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन । अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामीको खतरा नरहेको जनाएको छ ।
कामचट्का प्रायद्वीप प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ नामक सक्रिय टेक्टोनिक क्षेत्रमा पर्छ । भूकम्पीय गतिविधिका हिसाबले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij