Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपेन्द्र यादवले महन्थ ठाकुरसहित ४ नेतालाई सोधे स्पष्टीकरण

उपेन्द्र यादवले महन्थ ठाकुरसहित ४ नेतालाई सोधे स्पष्टीकरण


  • 6.9K
    Shares

    उपेन्द्र यादवले महन्थ ठाकुरसहित ४ नेतालाई सोधे स्पष्टीकरण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण सोध्दै पत्र पठाएका छन् ।

    हालैका केही दिनहरुमा ठाकुरको काम कार्बाही र क्रियाकलापहरु पार्टीको नीति विधि विपरित भइरहेको भन्दै स्पष्टीकरण मागिएको पत्रमा उल्लेख छ ।

    पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कार्बाही सम्वन्धी व्यवस्थाअनुसार उक्त प्रष्टीकरण सोधिएको हो । ठाकुरलाई तीन दिन भित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनिएको छ । चित्तबुझ्दो जवाफ नआएमा कार्बाहीको चेतावनी दिएको छ ।

    ९ बुँदामा सोधिएको प्रष्टीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्दै प्रश्न गरिएको छ । पार्टीको कार्यकारिणी बैठकमा अनुपस्थित हुने तर आफ्ना समर्थकको बैठक बोलाएर गुटबन्दी गरेको आरोप ठाकुरलाई छ ।

    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हुँदा हुँदै किन छुट्टै कार्यालय संचालन गरिएको भन्दै स्पष्टीकरणमा मागिएको छ । पार्टीको निर्णय विना निर्वाचन आयोग, राष्ट्रपति कार्यालयमा किन पत्र पठाइएको भन्दै ठाकुरसँग यादवले जवाफ मागेका छन् ।
    जेठ ३ गते जारी संयुक्त विज्ञप्तिको पालना नगरेकोमा पनि ठाकुलाई प्रश्न सोधिएको छ ।

    पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नवनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरि संघीय संसदलाई पत्र पठाएको भन्दै उनीसँग जवाफ मागिएको छ । पार्टीको आधिकारिक निर्णय विना सरकारसँग वार्ता गर्ने भन्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारी कार्यदलसँग वार्ता गर्न पठाएको बारे पनि यादवले ठाकुरसँग सोधेका छन् ।

    पार्टीलाई आफ्नो पकेट बनाउने र स्वेच्छाचारीता लाद्ने काम ठाकुरबाट भएको उक्त पत्रमा आरोप छ । पत्रमा पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासनको कार्बाही किन नगर्ने भन्दै प्रश्न गरिएको छ ।

    यस्तै राजेन्द्र महतोसँग ६ बुँदे, लक्ष्मणलाल कर्णसँग ५ बुँदे, सर्वेन्द्रनाथ शुक्लसँग ५ बुँदे स्पष्टीकरण सोधिएको छ । यस अघि ठाकुरले यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - ११:२२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij