Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेपालको राजनीति विकृत एवँ ग्ल्यामरस बन्दै !

नेपालको राजनीति विकृत एवँ ग्ल्यामरस बन्दै !


  • 610
    Shares

    नेपालको राजनीति विकृत एवँ ग्ल्यामरस बन्दै !

    काठमाडौं । एक शताब्दी भन्दा लामो समय सम्म चलेको जहानिया राणा शासनको अन्त्य संगै शुरु भएको नेपालको आधुनिक राजनीति करिव आठ दशक पुग्न लाग्दा समेत अत्यन्त अस्थिरतामै रुमल्लिरहेको छ । सक्रिय राजतन्त्र, बहुदलीय ब्यवस्था सहितको प्रजातान्त्रिक समाजबाद,  बहुदलीय ब्यवस्था र संवैधानिक राजतन्त्र, बहुलीय जनवाद, माओवादको नाउँमा एक्काइसौं शताब्दीको जनवादका लागि संविधानसभाबाट संविधान निर्माण भन्दै सधै बिभिन्न प्रकारका राजनीतिक बहसमा अल्झिदै आएको छ नेपाल । यति धेरै राजनीतिक बहस  हुँदा पनि राजनीतिक पार्टीका नेताहरु नेपालको समग्र बिकासको लागि साझा अबधारणाहरु बनाउन पूर्णतया असफल देखिएका छन् । 
     
    माथि उल्लेखित बिचारधाराका बहसको सिलसिलामा भएका बिभिन्न प्रकारका आन्दोलनहरुकै निरन्तरता स्वरुप पछिल्लो परिवर्तन बि.सं. ०६३ मा भएको थियो । जुन परिवर्तन पछि नेपालबाट राजतन्त्रलाई समाप्त गर्दै गणतान्त्रिक कालमा प्रवेश गरेको भएपनि त्यसपछिका दिनमा नेपालको राजनीति झन बिचारबिहिन एवँ बिकृत बन्दै राजनीति नितान्त ग्ल्यामरस क्षेत्रजस्तो बन्न थालेको छ । जसको परिणाम नेपालको राजनीति अब बिचारले निर्देशित हुन छोडेको छ । अहिले नेपालको राजनीति, राजनीतिक बिचारबाट अत्यन्त अनभिज्ञ मानिसहरु जेनजी जस्तो उमेर समुहलाई एउटा राजनीतिक ब्रान्डको रुपमा प्रस्तुत गर्दै सामाजिक सञ्जाल मार्फत राजनीतिक शक्तिकोरुपमा स्थापित हुन खोजिरहेका छन् । 

    ठयाक्कै यस्तै अबस्था सन २०१९ अगाडि युक्रेनमा कायम गरिएको थियो । हालका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तत्कालिन समयमा पेशाले नितान्त हास्य कलाकार र टेलिभिजन निर्माता र अभिनेता थिए । उनले अभिनय गरेको टिभि सिरियल "Servent of the People" बाट उनि लोकप्रिय भएका थिए । उनको लोकप्रियता बढेपछि उनले राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए । उनको नारा पनि भ्रष्टाचारको अन्त्य, पुरानो राजनीतिक प्रणालीमा सुधार र साधारण जनताको पक्षमा शासन नै थियो ।उनले तत्कालिन युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई पराजित गरेका थिए । जेलेन्स्कीको प्रचारशैली पनि सामाजिक सञ्जाल ट्वीटर,इन्स्टाग्राम, टेलिग्राम, प्रत्यक्ष भिडियो सन्देश (सेल्फी स्टाइल) अन्र्तराष्ट्रिय मिडिया संग सम्बाद जस्ता रहेका थिए । उनले ७३ प्रतिशत मत ल्याएर बिजय भएका थिए । जसले के देखाउछ भने कहिले कहिले पपुलिष्ट नाराले भोट ल्याउन सकेपनि अन्ततः राज्यको लागि लाभदायी नहुन पनि सक्छ । 

    त्यतिबेला त्यहाँका जनताको चाहना र पुराना नेताहरु प्रति जनताको निराशा, नयाँ, गैर–राजनीतिक अनुहारको चाहना, सिस्टम बदल्ने आशा नै थियो । तर अहिले उनि युक्रेनको बिनासका प्रतिक बनेका छन् । उनको प्रबृत्ति जेलेन्स्की प्रबृत्ति बन्न पुगेको छ ।  उनको कारण आज त्यति ठुलो साधन श्रोतले भरिपुर्ण र सम्पन्न राष्ट्र युक्रेन बिदेशीहरुको उक्साहटमा गरिएको छिमेकी राष्ट्र संगको गलत ब्यवहार र नीतिले भएको रसिया संगको युद्धले युक्रेन ध्वस्त भै खण्डहरमा परिणत भएको छ । 

    त्यस्तै प्रकारको राजनीतिक अबस्था र दुईहजार त्रिसठ्ठी पछि सञ्चालन गरिएको भागबण्डीय राजनीतिक प्रणालीले जनतामा निराशा सृजना गरेको थियो । ०६३ पछि शुरु गरिएको राजनीतिक प्रणालीको बाईप्रोडक्टकोरुपमा संगै स्थापित हुन पुगेको चरम कुशासन, अनुशासनहिनता र भ्रष्टाचारले स्वभाविकरुपमा नेपालीहरुलाई आक्रोशित गरेको थियो । 

    ०६३ को परिवर्तन भन्दा पहिला संघीय गणतन्त्र पछि स्वर्णयुग हुनेछ भनि शुरु गरिएको संघात्मक राज्य ब्यवस्था सहितको गणतन्त्रले नेपालमा अनावश्यक राजनीतिक इकाईहरु त स्थापना ग¥यो, तर गणतन्त्र र संघात्मक राज्य ब्यवस्थाले नेपालमा उद्योग धन्धाहरुको स्थापना गर्दै रोजगारी सृजना गर्न सकेन । 

    जसको फलस्वरुप नेपालको तीन करोड जनसंख्याको एकतिहाई जनसंख्या बिदेश पलायन हुन बाध्य भएका छन् । बिदेश पलायन नभै नेपालमा बसेका युवाहरुले आफ्नो अध्ययन समाप्त गर्न साथ रोजगारीको खोजी गर्दछन । जुन स्वभाविक हो । तर रोजगारी असंभव प्रायः बन्दै गएको छ ।  

    साधारणतया प्रत्येक बर्ष करिव ५ लाखको हाराहारीमा श्रमबजारमा प्रवेश गर्न चाहने युवाहरुको लागि रोजगारीको ब्यवस्था गर्न राज्य संचालकहरु गम्भीर बन्न सकेनन् । त्यसैको आक्रोसमा नवयुवाहरुको समुह ‘जेनजी’ जसलाई अहिले नेपालमा राजनीतिक ब्रान्ड बनाउने कोशिस गरिएको छ ।

    उनिहरुले गत भाद्र २३ र २४ गते सरकार बिरुद्ध प्रदर्शनमा उत्रिए । जेनजीको नाउमा गरिएको बिद्रोहको पदचापलाई राज्य संचालनमा रहेका दम्भी शासकहरुले आँकलन गर्न सकेनन् । परिणाम सोझा र निरपराध राजनीति देखि बेखवर ७६ जना युवाहरु मारिए । बिद्रोहकै बहानामा राज्य सत्ता कब्जा गर्ने दाउ हेरेर बसेका समुहहरुले अहिले नेपालको राजनीतिक शक्तिलाई कब्जा गरिरहेका छन् । उनिहरुको राजनीति कब्जा गर्ने मुख्य माध्यम भनेको साइवर सेनाको माध्यम सामाजिक सञ्जाल रंगाउने र जनतालाई भ्रमित गर्ने रहेको छ । जसको कारण राजनीतिलाई कब्जा गर्दै अमुक शक्ति केन्द्रको ईशारामा देश हाक्ने देखिएको छ ।

    स्वभाविकरुपमा राजनीति बिचारबाट निर्देशित हुनुपर्छ, बिचारले गोलबन्द भएका समुहहरुले मात्र आफ्नो बिचार अनुसार तय गरिएको राज्यको बिकास गर्ने खाकाले जनतालाई आकर्षित गर्नु पर्ने हो । जुन बिचार र योजनाहरुलाई जनताले अनुमोदन गरिसकेपछि बल्ल राजनीतिक पार्टीहरुले मुलुक सञ्चालन गर्ने अबशर पाउछन, जुन आवधिक निर्वाचनको माध्यम टुंगो लगाउने गरिन्छ ,त्यो नै विश्वब्यापि प्रचलन हो । 

    जुन राजनीतिक पद्धतिमा राजनीतिक नेताहरु राजनीतिक बिचार र नैतिकताले निर्देशित हुने गर्छन । राजनीतिमा नैतिकता, बिचार जत्तिकै महत्वपूर्ण र बाध्यकारी हुन्छ । तर अहिले राजनीतिमा नैतिकता र आर्थिक अनुशासन गौण बन्न पुगेको छ । नैतिकताको खडेरी लागेको छ ।  ठूला ठूला दागी नेताहरु आफू बिरुद्ध लागेको आरोपलाई नपखालिकन जर्बजस्ती राजनीति कब्जा गर्ने कोशिस गरिरहेका छन् । 

    पछिल्लो समयमा राजनीतिमा उदाउन खोजेका नयाँ भनिएका केहि ब्यक्तिहरु शक्ति केन्द्रको इशारामा बिभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सत्ता कब्जा गर्न उद्यत देखिएका छन् । त्यतिमात्र होइन, उनिहरु जर्मनीका नाजी शासक एडोल्फ हिटलरको समयका मन्त्री जोसेफ गोयबल्सले जस्तै अहिले ठूला ठुला झुटो कुराहरुलाई साचो भन्दै बारम्वार शेयर गरिरहेका छन । झुटो कुरालाई पटक पटक दोहो¥याउनाले जनतालाई यहि नै साचो हो भन्ने पर्दछ । त्यसरी नै  जनताको भावनामा खेल्ने कोशिस गरी ९अष्अिपदबष्त० प्रयोग गर्ने कार्य अहिले भैरहेका छन् । नभएको शत्रु निर्माण गरी देखाउने कार्य गरिएको छ ।  सामाजिक सञ्जाल लगायत मिडियाहरुलाई पूर्णरुपमा नियन्त्रणमा लिने र पटक पटक देखिने एल्गोरिदमको माध्यम भ्रम सजना गर्ने कोशिस गरिएका छन् । मुलुकको राजनीतिलाई बिना बिचारधारा बिना शासन गर्न खोजिएको छ । जहाँ सम्म कुनैपनि मुलुकको दिर्घकालिन बिकास गर्नको लागि बिना बिचारधारा असम्भव नै रहन्छ ।

    बिचारधारा भन्न साथ राज्य कसरी संचालन गर्ने,सत्ता कसका लागि प्रयोग हुने, राज्यको बिकासका प्राथमिकता के के मा हुने,न्याय,समानता र स्वतन्त्रता जस्ता बिषयको अर्थ के हुने, देशको भौगोलिक अबस्था कस्तो छ ? जनताको आर्थिक अबस्था कस्तो रहेको छ ? जनताका पहिला आवश्यकता र प्राथमिकताहरु के के हुनुपर्छ ? जस्ता बिषयहरु राज्य संचालनका आधारभूत कुराहरु हुन । तर अहिले अत्यन्त पपुलिष्ट कुराहरु गर्न थालिएको छ । 

    फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका माध्यम राजनीतिक बिचारधाराको सामान्य ज्ञान सम्म नभएका ब्यक्तिहरुलाई रातारात ‘हिरो’ बनाउने कोशिस गरिएको छ । त्यस्ता हिरोकोरुपमा प्रस्तुत गरिएका ब्यक्तिमा आर्थिक अनुशासन कस्तो रहेको छ ? जनता प्रति उनिहरु कति उत्तरदायी रहने गरेका छन ? उनिहरुको छवि कति स्वच्छ र निस्कलंक रहेको छ ? यी र यस्ता बिषयहरुलाई बिल्कूलै बेवास्ता गरिएको छ । 

    दागी र गैरजिम्मेवार ब्यक्तिलाई सामाजिक सञ्जालको भरमा राज्य संचालनको जिम्मा दिइनुपर्छ जस्ता प्रचारबाजी गरिएका छन् ।
    जहाँ सम्म नेपालको भौगोलिक अबस्थिति छ, नेपाल साच्चै राष्ट्र निर्माता पृथ्वी नारायण शाहले भने झै दुई ढुँगाको बीचको तरुल जस्तै अबस्थामा रहेको छ । नेपाल उत्तर र दक्षिण तर्फका बिशाल छिमेकीहरुले घेरिएको मात्रै होइन भूपरिबेष्ठीत मुलुक पनि हो ।
     नेपालका हरेक बिकासका गतिविधि देखि दैनिन्दीन आयात गरिने आवश्यकिय सामाग्रीहरु समेत यी मुलुकमा निर्भर रहेको छ । 

    यदि यी मुलुक बिरुद्ध कुनै अन्य तेश्रो शक्तिको उक्साहटमा नेपालको परराष्ट्र र कूटनीति अबलम्बन गरियो भने नेपालले सिधै युक्रेनको नियती भोग्ने निश्चित छ । तर, अहिले राजनीतिमा जबर्जस्ती उदाउन खोजेका पात्रहरु आफैमा बिवादस्पद देखिएका छन् ।  यिनिहरुले अबलम्वन गर्ने परराष्ट्र नीति र कूटनीतिले नेपालको शान्तिपूर्ण र असंलग्न नीतिलाई परिवर्तन गर्ने देखिएको छ ।

    अर्काे कुरा अहिले भाद्र २३ र २४ पछिको अबस्थालाई चित्रित गर्दै जुन निर्वाचनको कुरा गरिएको छ, उक्त चुनावले दिर्घकालिनरुपमा राजनीतिक निकाश निकाल्ने अबस्था देखिदैन । जसका लागि अहिले घोषणा गरिएको चुनाव नभै नेपाल र नेपालीको शान्ति प्रिय छविलाई जोगाउन र नेपालको असंलग्नताका कायम राख्नको लागि बृहद राजनीति सम्मेलन मार्फत राजनीतिक निकाश खोजिनुपर्छ । 

    जसका लागि मुलुकका जिम्मेवार राजनीतिक पार्टीका नेताहरुले आफ्ना बिगतका गलत निर्णयलाई समिक्षा गर्दै राजनीतिक निकाश खोज्न पहल गर्नु पर्छ । अन्यथा नेपालले एसियामा युक्रेनको नियती भोग्नु नपर्ला भन्न सकिदैन । 

      

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १५:४१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij