२०८३ श्रावण २८ गते बिहिवार
– विजयराज न्यौपाने
म लप्सीको बोट हुँ । पतझड वनस्पतिको एक जात । मध्यपहाडी भूभागमा मलाई हुर्किन सहज हुन्छ । काठमाडौँँको फर्पिङ, दक्षिणकाली भेगमा त यताउता जताततै लप्सीका बोटैैबोट पाइन्छ । त्यसो त पश्चिम उत्तरी गोरखामा त एउटा सिङ्गै गाउँको नाउँ छ लप्सीबोट । यसैको छिमेकी गाउँ छ खरिबोट । जयतु संस्कृतम् तथा ब्राह्मणद्वारा हलो जोतआन्दोलनका एक योध्दा थिए लप्सीबोट,गोरखाका पूर्णप्रसाद ब्राह्मण ।
खरिबोट, गोरखा चिनाउने विनोद धिताल, विष्णुप्रसाद धिताल, भारतप्रसाद धिताल आदि एकेक भए र हुँदै छन् पनि । यसरी वनस्पतिको नाउँबाट गाउँ र गाउँको नाउँबाट मानिसले नाउँ चिनिएका छन् र चिनाउँदै जानेछन् पनि । म फलदार वनस्पति हुँ । म लटरम्म फल्छु । कार्तिक मङ्सिरदेखि म पाक्न थाल्छु । पुस, माघ, फागुनसम्म पनि म पाक्दै र झर्दै हुन्छु । मेरै फलबाट लप्सीको अचार, माडा, चक्लेट, जाम आदि विभिन्न प्रकारका खानेकुरा बनाइन्छन् । मुख मिठ्याइ, जिब्रोसमेत पड्काइ लप्सीका परिकार विशेष खाइरहेका किसोर किसोरीहरू देख्दा मलाई वहुत आनन्द लाग्छ ।
छिप्पिएको मेरो काठबाट फर्निचर बनाउन, दाउरा बनाउन र पातपतिङ्गर कुहाएर कम्पोस्ट मल बनाउन उत्तिकै उपयोगी हुन्छु म । किसानलाई अहिले मलको हाहाकार छ । शहरको फोहोर तह लगाउन सधैँ अर्कोतिर हाहाकार । फोहरबाट मोहर टिप्न र उत्पादन बढाउन किन कानमा तेल हालेका होलान् ।
मलाई सिर्जनात्मक ढङ्गले उपयोग गरे, कम्पोस्ट मल बनाए त आयआर्जन पनि बढ्ने थियो नि । सिधैँ रुखमा पैसा त कहाँ फल्छर ? तर मानिस विदेशमा त रुखमा पैसा फल्छ, टिप्न जानुपर्छ है भन्ने तालले विदेशीएका देख्दा म त अवाक भएर टुलुटुलु हेर्छु मात्रै । क्या लहै लहैको संसार छ यो ।
रुद्राक्ष! तिमीलाई वोर त भएको छैन नि ?
अब तिम्मेे मेरो म निजी कुरा गर्छु । हामी दुवै
एक कविको घरको तुलसीको मठमा उम्रियौँ । मसँगै तिमी रुद्राक्ष पनि उम्रियौँ। तुलसीमठको मलिलो र चोखो माटोमाथि के देखिदै थियौँ, कवि पत्नीले के उम्रिए यी बिरुवा भनी नउखेली रहन दिइन् । एकपटक उनले के के उम्रिए मठमा हेर्नुस् न भनी पतिलाई बोलाइन् । दुवैले हेरेर ठहर गरे - एक लप्सी र अर्को रुद्राक्षको बिरुवा । तिम्रो लच्छिनको प्रतीक । तिम्रो व्रत, पूजा, आराधनाका प्रतीक हुन यी बिरुवा । यी पनि हाम्रा नयाँ सन्तान भन्दै पतिले पत्नीको मुहार पढे । पत्नीको मुहारमा नजानिदो रेखैरेखाले चाउरिदो तर ओज थियो । मुसुक्क मुस्कुराउँदै उनले के गर्ने यी बिरुवा अब? दिनदिन तुलसीरोपणको दिन नगिचिदैछ भनेर जिज्ञासा राखिन् । "तिमी चिन्ता नगर तुलसीरोपणको दिन म मैह्पी मन्दिरको जङ्गलमा यी बिरुवा रोपौँला" पति कविले बोले ।
कवि र कविपत्त्नीको यही सल्लाहअनुरूप हामी म्हैपी मन्दिर परिसरभित्र रोपियौँ । अहिले हामी म्हैपी मन्दिर परिसरभित्रको वनमा हुर्कदै छौँ । अहिले हामी दुई दुई वर्षका भयौँ । बालबालिका भए टुकुटुकु हिँड्ने उमेर । हामी हिँड्न त सक्दैनौँ तर माटोमा जरा भने गाड्दै उचाइ उठाउँदै छौँ । मलाई अल्लि अग्लेको देखेर रुद्राक्षले आँखा उघारी भने- मभन्दा त दोबर उठ्यौ तिमी । म त तिम्रो कम्मर बल्ल छुन आइपुगेँ, कहिले कुम कुम छुन पुगुँला ? म त सधैँ स्मार्ट एरोविक्सका प्रशिक्षक र प्रशिक्षार्थीहरूले सङ्गीतमय भजनमा खेलेको, नाचेको हेरेर हरदिन प्रातकालीन लालीमा यो लीलामय आनन्दी उठाउन पाएकाले ह्वात्तै बढेकी जस्तो लाग्छ लप्सीले लामा लामा पात हल्लाउँदै भन्यो ।
मुख मिठ्याउँदै मसिना ओठे पात सुस्रुतरी चलाउँदै द्राक्षले बोल्यो ल मोज गर । म त गुम्वा भवनको माथि गुमनाम छु । कहिले कहिले मणि घुमाएर "ॐ मणि पध्मे हुँ ।" भनेझैँ लामा गुरुको झङ्कारमात्र सुन्छु । मनमा "योगाम्वर ज्ञानेश्वरी" मखठूलो भएर तिमीलाई रुद्राक्ष -फल चढाउन सकूँ भन्छु, गुन्छु । वाउ! तिमी झन् भाग्यमानी ! लप्सीको बोटको कुरा सुनेर आत्मसम्मान र आत्मसन्तोसको भावले रुद्राक्ष स्थिर भयो । उसले आफ्नो भन्दा पनि लप्सीकै थप कुरा सुन्ने इच्छा गर्यो ।
लप्सीले भन्यो - आफू वनको हेरचाह गर्न आउनेबाटै लछारिको, हाँगा काटिएको र टुप्पाको टुप्पीको फुर्कोमात्र लिएर मुडुलो टाउको हल्लाउन परेको कुराबाट तिमी अनभिज्ञ छैनौँ । रुद्राक्षले शान्त भएर मधुर बोल्यो- जीवन भोगाइमा तितामिठा कुरा त भइरहन्छन् नै । जीवन सिधा रेखामा कहाँ हिँड्छ? घटेका यस्ता घटनाको साक्षी हुनु तर लाछी (दुखी) नहुनु । आत्मज्ञानले लबालब भएझैँ म त वुध्दवचनामृत पिएर आनन्दानुभूति गर्दैछु तर पनि तिम्रा कुरा सुनेर बाह्य कान खोेलेर रमाइरहेछु भन्ने रुद्राक्षको कुरा सुनेर " के मबाट नै अरु सुन्न खोजेका हौ त ? पातमाथिका पात हल्लाउँदै लप्सीले बात गर्न थाल्यो । तिमी जस्तो अन्तरमुखी स्वभावको म छैन । एक वारको जुनी जसरी रम्न मनलाग्छ रम्ने हो । म त संसारतिरै हेरेर रमाउछु । यहाँ नित्य प्रभातमा व्यायम चल्छ । यहाँको स्मार्ट एरोविक्समा पनि थरीथरीका मानिस । कहाँ सबै एकैनासका छन् र? कोही आइरहेका हुन्छन् त कोही गइरहेका । कोही प्रशिक्षार्थी पछ्याएका हुन्छन् त कोही आफ्नै सुरमा गफ्फिएका । कोही जिउलाई मर्का पर्छ कि झैँ गर्छन् त कोही ज्यान फालेर गरिरहेका हुन्छन् ।
व्यायामको वहानामा कोही हल्लिदै र जीउ हल्लाइरहेका हुन्छन् त कोही ठिङ्ग उभ्भिरहेका देखेर चख्खै पर्छु । बाटो हिँड्नेहरू कोही त क्वारक्वार्ती हेरिरहेका हुन्छन् भने कोही एकपटक नजर मारेर हिँड्छन् । कोही त बाटो हिँड्न नै विर्सेर बाटोमै व्यायाम गरेर बटुवाको बाटो छेक्न लागेमो देख्दा म त खित्का छोडेर हाँसेछु भन्या । ---- देख्नेलाई लाज भनेको यही रहेछ ।तिमीले पो के भो किन हाँसेकोभन्दा जिब्रो टोकी समालिएँ । रमाइलो छ । तिम्रो कुरा सुनेर म त रोमाञ्चित हुँदैछु भने प्रत्यक्ष देख्ने तिमीले किन खित्का नछोड्नु नि । रुद्राक्षको कुराले लप्सी अझ हौसियो । तीन दिन रातापहेला टिसर्ट त तीन दिन सेता टिसर्ट सजिएका तन्नेरीवयका महिला पुरुषको एकसाथको चालढालले वातवरण मनमोहक लाग्दछ । यहीँ दुई चारजना त सत्तरी काटेका देखिन्छन् । एकजना छोटो मोटो जिउका त्रिसठ्ठी होलान् भनेको त त्रियानब्बे पो रहेछन् । बालुन भजन गुरु उनी खैँजडी बजाएर नाच्दा रहेछन् पनि । कवि हृदयीले यहीँ कविता सुनाएर रवि पनि पुग्न नसकेको ठाउँमा पुर्याएर रोमान्चित गराउछन् पनि । म्हैपी माताकी साक्षात छोरीजस्ती उस्तै गोरी र बोल्न खप्पिस मोरी प्रशिक्षक पनि साँच्चिकै छन् त नि छन् । यसरी बोल्छिन् कि सत्सङ भनेको त यो पो रहेछ भन्ने बनाउछिन् । यहीँ कोही भाषणवाज छन्, कोही मुलुक्क देखा पर्छन् र आफ्नो काम भियाएर लुसुक्क टाप कसेका हुन्छन् ।
रक्तदान जीवनदान भनी एकैदिनमा २/३ सय मानिसले रक्तदान गरेका हुन्छन् त कहिले गुरुपूर्णिमा पर्वमा गुरुमालाई अबिर, माला, खादाले पुरेका हुन्छन् । कहिले अजिमा पूजाका लागि मनको मदुस खोलेर भेटी चढाउछन् । कहिले वनभोजको मोज त कहिले असारमा हिलो खेल्दै धान रोप्ने र हिलैमा डोरी तान्ने र जित्नेको सुरमा हिलोमा पछारीका तिनका फोटा पनि देख्छु । सायद यसैलाई कविहरू वर्णनातित भन्छन् क्यार अर्थात् अवर्णनीय ।
म त मेरै सुरमा भन्दै गएँ । वेसुर त भाछैननि रुद्राक्ष ? फेरि फेरि बात मार्दै गरौँला । आजलाई बिट मार्ने अनुमति चाहन्छु । यो सब म्हैपीआमाको कृपा सम्झेर लप्सी र रुद्राक्ष दुबै चूप लागे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij