२०८३ श्रावण २८ गते बिहिवार
भिमसेनथापा गाउँपालिका, गोरखाको मसेलस्थित माझथोकमा उभिएको एउटा पुरानो चौतारा छ— ‘तहबिल चौतारा’ । यो चौताराको नाम कुनै संयोगले रहन गएको होइन । गाउँका अग्रजहरूका अनुसार ‘तहबिल बगाले’ले रोपेको र हुर्काएको कारण यस चौतारालाई ‘तहबिल चौतारा’ भनिन थालियो । समय बित्दै गयो, पुस्ता फेरिए, गाउँका घरहरू फेरिए, बाटोहरू बने, तर चौतारा भने अझै त्यहीँ उभिएर गाउँका सुख–दुःखका कथा सुनिरहेको छ ।
यदि यो चौताराले बोल्न सक्थ्यो भने सायद यसले धेरै कुरा सुनाउँथ्यो । यात्रुका थकाइ, किसानका पसिनाका कथा, गाउँलेका हाँसो, बालबालिकाका खेल र जेष्ठ नागरिकहरूको अनुभवका कथा । तर आज यो चौतारा आफैं एउटा सपना देखिरहेको छ । एउटा सुन्दर, पवित्र र सामुदायिक सपना ।
चौताराले कल्पना गर्छ—
“बिहानको सुनौलो घामसँगै गाउँका मानिसहरू पुजापाठ गर्न आउनेछन् । ज्येष्ठ नागरिकहरू खाना खाएपछि विस्तारै यहाँ जम्मा हुनेछन् । कसैले खैजडी ल्याउनेछन्, कसैले मादल । कसैले भजनको किताब बोकेर आउनेछन् । अनि मन्दिरको आँगनमा बसेर उनीहरू भजन–कीर्तनमा रमाउनेछन् । उनीहरूको अनुहारमा देखिने सन्तुष्टि हेर्दा म आफैं धन्य महसुस गर्नेछु ।”
चौतारा भन्छ—
“म वर्षौँदेखि यहीँ उभिएको छु । घामले पोल्दा मानिसहरू मेरो छहारीमा आएर बस्छन् । बाटो हिँड्ने यात्रुहरू केहीबेर विश्राम गर्छन् । खेतबारीबाट फर्किएका किसानहरू मेरो फेदमा बसेर सुस्केरा हाल्छन् । गर्मीका दिनमा म शीतल हावा दिन्छु । वर्षातमा पनि म आश्रय दिन खोज्छु । मसँग बसेर धेरैले आफ्ना दुःख बिसाएका छन्, धेरैले खुसी साटेका छन् । यही नै मेरो खुसी हो ।
तर मेरो एउटा अधुरो सपना छ ।
मेरो छेउमै एउटा सुन्दर मन्दिर बनोस् । त्यहाँ बिहान–बेलुका घण्टी बजोस् । धूपको सुगन्ध फैलियोस् । गाउँका जेष्ठ नागरिकहरू जम्मा होऊन् । उनीहरूले खैजडी, मादल र झ्याली बजाउँदै भजन–कीर्तन गरुन् । भगवानको नाम गुञ्जियोस् । अनि म त्यो भजनको मधुर धुन सुन्दै गर्वले मुस्कुराउन सकूँ ।”
चौताराको यो सपना केवल एउटा मन्दिरको सपना होइन । यो गाउँलाई अझ जीवन्त बनाउने सपना हो । अहिले पनि यहाँ मानिसहरू आउँछन्, बस्छन् र रमाउँछन् । तर मन्दिर बनेपछि यो ठाउँ केवल विश्रामस्थल मात्र रहने छैन, यो धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्र समेत बन्नेछ ।
चौताराले कल्पना गर्छ—
“बिहानको सुनौलो घामसँगै गाउँका मानिसहरू पुजापाठ गर्न आउनेछन् । ज्येष्ठ नागरिकहरू खाना खाएपछि विस्तारै यहाँ जम्मा हुनेछन् । कसैले खैजडी ल्याउनेछन्, कसैले मादल । कसैले भजनको किताब बोकेर आउनेछन् । अनि मन्दिरको आँगनमा बसेर उनीहरू भजन–कीर्तनमा रमाउनेछन् । उनीहरूको अनुहारमा देखिने सन्तुष्टि हेर्दा म आफैं धन्य महसुस गर्नेछु ।”
उमेर बढ्दै जाँदा धेरै जेष्ठ नागरिकहरू एक्लोपनको अनुभव गर्छन् । दिनभरि घरभित्र बस्नुपर्छ । कुरा गर्ने साथी कम हुँदै जान्छन् । तर यहाँ यदि मन्दिर र नियमित भजन–कीर्तनको वातावरण बन्यो भने उनीहरूलाई भेटघाट गर्ने, समय बिताउने र मानसिक आनन्द प्राप्त गर्ने अवसर मिल्नेछ । उनीहरूको जीवनमा नयाँ ऊर्जा थपिनेछ ।
चौताराले अर्को सपना पनि देखिरहेको छ ।
“मेरो वरिपरि स–साना पसलहरू चलून् । चिया पसलमा मानिसहरू बसेर कुराकानी गरून् । गाउँबाहिरबाट आएका पाहुनाहरू यहाँको सौन्दर्य हेर्न आऊन् । उनीहरूले तस्वीर खिचून्, केहीबेर विश्राम गरून् । अनि गाउँको प्रचार प्रसार होओस् सानोतिनो व्यापार व्यवसाय पनि फस्टाओस् ।”
वास्तवमा कुनै पनि धार्मिक तथा सांस्कृतिक स्थलले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने क्षमता राख्छ । मानिसहरूको आवतजावत बढ्दा चिया पसल, किराना पसल, फलफूल तथा स्थानीय उत्पादन बेच्ने व्यवसायीहरूलाई फाइदा पुग्छ । गाउँमा सानो भए पनि आर्थिक गतिविधि बढ्न थाल्छ । यसरी एउटा मन्दिरले केवल धार्मिक महत्व मात्र बोकेको हुँदैन, यसले सामाजिक र आर्थिक विकासको ढोका पनि खोल्छ ।
तहबिल चौतारा अझै अगाडि सोचिरहेको छ ।
“यदि मन्दिर बन्यो भने यहाँ तीज, शिवरात्री, गाईजात्रा लगायतका विभिन्न पर्वमा मेला लाग्नेछ । भजन कीर्तन र नाचगानका प्रतियोगिता हुनेछन् । गाउँका युवाले स्वयंसेवक बनेर कार्यक्रम सञ्चालन गर्नेछन् । बालबालिकाले आफ्ना संस्कृति र परम्पराबारे सिक्नेछन् । अनि म केवल एउटा चौतारा नभई गाउँको पहिचान बन्नेछु ।”
आजको समयमा गाउँका धेरै पुराना चौतारा, पाटी र सार्वजनिक स्थलहरू विस्तारै ओझेलमा पर्दै गएका छन् । नयाँ पुस्ताले ती स्थानहरूको इतिहास र महत्व बिर्सँदै गइरहेको छ । तर तहबिल चौताराको सपना भने पुरानो सम्पदालाई नयाँ जीवन दिने सपना हो । यसले विगतलाईलाई वर्तमान र भविष्यसँग जोड्ने प्रयास गरिरहेको छ ।
हामी कल्पना गरौं– साँझको शीतल हावासँगै मन्दिरको घण्टी बजेको, जेष्ठ नागरीकहरू खैजडी बजाउँदै भजन गाइरहेका, यात्रुहरू चौतारामा बसेर आनन्द लिइरहेका, वरिपरिका पसलहरूमा चहलपहल बढेको । अनि तहबिल चौतारा गर्वले मुस्कुराउँदै भनेको—
“मेरो सपना पूरा भयो । मैले केवल छहारी मात्र दिइनँ, मैले गाउँलाई एकताबद्ध गर्ने एउटा केन्द्र पनि पाएँ । अब म केवल चौतारा मात्र होइन, गाउँको आत्मा बनेको छु ।”
तहबिल बगालेले चौतारो बनाउँदा यति ठूलो सपना देख्नुभएको थिएन होला । तर उहाँले बनाउनुभएको चौताराले आजपनि विशाल शीतलता प्रदान गर्दै आएको छ । त्यसले हजारौँ मानिसलाई छहारी दिएको छ । अब समय आएको छ, तवहिल चौताराको सपना पनि पूरा गरिदिने ।
यो काम कुनै एक व्यक्तिको मात्र होइन । यो गाउँका सम्पूर्ण बासिन्दाको साझा दायित्व हो । कसैले श्रमदान गर्न सक्छ, कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले योजना बनाउन सक्छ । सानो–सानो योगदान मिलेर ठूलो काम सम्भव हुन्छ ।
हामी कल्पना गरौं– साँझको शीतल हावासँगै मन्दिरको घण्टी बजेको, जेष्ठ नागरीकहरू खैजडी बजाउँदै भजन गाइरहेका, यात्रुहरू चौतारामा बसेर आनन्द लिइरहेका, वरिपरिका पसलहरूमा चहलपहल बढेको । अनि तहबिल चौतारा गर्वले मुस्कुराउँदै भनेको—
“मेरो सपना पूरा भयो । मैले केवल छहारी मात्र दिइनँ, मैले गाउँलाई एकताबद्ध गर्ने एउटा केन्द्र पनि पाएँ । अब म केवल चौतारा मात्र होइन, गाउँको आत्मा बनेको छु ।”
यही हो— तहबिल चौताराको सपना । एउटा चौताराको सपना, जसमा गाउँको समृद्धि, संस्कृति, सद्भाव र सामूहिक भविष्य लुकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij