२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने भएको छ ।
सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र इश्वर खतिवडा रहेका छन् ।
लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आज सुनुवाई हुन लागेको हो । उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।
हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्न नभ्याइनेमा परेको थियो । यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो ।
सुरुमा पूर्णिमायाको जाहेरी प्रहरीले लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा चलिरहको छ । जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेर नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन् ।
रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०६४ फागुन २७ गते उनको जाहेरी दर्ता गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयका नाममा आदेश दियो । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लयायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij