२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । आफ्नो पार्टी छाडेर नेकपा एमाले ओली समूहमा सामेल भएका सांसदलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि केन्द्र र प्रदेशमा गरी अहिलेसम्म १३ जनाको पद खारेज भइसकेको छ।
पछिल्लोपटक हिजो (आइतबार) मात्र गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभाको सदस्यबाट बर्खास्त भएका छन्। तर सांसद पद गए पनि गृहमन्त्रीमा भने उनले तुरुन्तै पुनर्नियुक्ति पाएका छन्। सांसद नरहँदा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई पुनः गृहमन्त्री बनाएका हुन्। थापाले आइतबारै साँझ शपथसमेत लिइसकेका छन्।
उनीसमेत गर्दा माओवादी कारबाहीका कारण संघीय संसद् र प्रदेश सभामा गरी अहिलेसम्म १३ सांसदको पद खारेज भइसकेको छ।
आफू जुन पार्टीबाट चुनाव जितेर सांसद भएको हो, त्यो पार्टी छाडेमा सांसद पद पनि समाप्त हुने राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था छ। सोहीबमोजिम माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका सांसदले दल त्याग गरेको सूचना प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सचिवालयलाई दिएपछि उनीहरूको सांसद पद खारेज गरिएको हो।
जसअनुसार अहिलेसम्म प्रतिनिधि सभाका ४, राष्ट्रिय सभाका १ र विभिन्न प्रदेश सभाका ८ जनाको सांसद पद गइसकेको छ।
माओवादी केन्द्रका अनुसार अरू २ सांसद पनि कारबाही प्रक्रियामा छन्।
प्रतिनिधि सभामा ककसको पद गयो ?
अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली–३ बाट निर्वाचित गौरीशंकर चौधरी, कैलाली–४ बाट निर्वाचित लेखराज भट्ट र रौतहट–३ बाट निर्वाचित प्रभु साहको सांसद पद खारेज भएको छ। माओवादी केन्द्रबाट चुनाव लडेर निर्वाचित उनीहरू एमालेको ओली समूहमा प्रवेश गरेपछि कारबाहीमा परेका हुन्।
सांसद पदसँगै मन्त्री पद पनि गुमाएका उनीहरूलाई पनि प्रधानमन्त्री ओलीले ६ महिनाका लागि पुनः मन्त्री बनाइसकेका छन्। रायमाझी ऊर्जा, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्।
प्रदेश सभाका ककसको पद गयो ?
आफ्नो पार्टी माओवादी केन्द्र छाडेर एमाले ओली समूहमा प्रवेश गरेका कारण प्रदेश १ का टंक आङ्बुहाङ, प्रदेश २ का ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र रामचन्द्र मण्डल प्रदेश सांसदबाट बर्खास्त भएका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशका दिनेश पन्थी र दधिराम न्यौपाने, कर्णाली प्रदेशका धर्मराज रेग्मी पनि एमालेमा लागेका कारण प्रदेश सांसदबाट हटाइएका छन्।
पद खारेज प्रक्रियामा २ जना
माओवादी केन्द्रले थप २ सांसदलाई पदबाट निकाल्ने प्रक्रिया अघि बढाएको छ। माओवादी केन्द्रका एक नेताका अनुसार सुदूरपश्चिम प्रदेश सभाका सांसद झपट बोहराको पद खारेज प्रक्रियामा गइसकेको छ भने राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि केन्द्रीय कमिटीले स्पष्टीकरण मागिसकेको छ।
उपनिर्वाचनको तयारी
रिक्त रहेका स्थानमा पदपूर्तिका लागि अब उपनिर्वाचन गर्नुपर्ने हुन्छ। संघीय र प्रदेश सभा सदस्यका लागि ६ महिनाभित्र उपनिर्वाचन गरी निर्वाचित गर्नुपर्ने हुन्छ भने राष्ट्रिय सभा सदस्यमा भने पद रिक्त भएको मितिले ३५ दिनभित्रै निर्वाचन गर्नुपर्ने हुन्छ। पदावधि ६ महिनाभन्दा बढी रहँदै राष्ट्रिय सभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्र चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij