२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।
गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
जम्कट्टेल सरकारबाट एमाले साढे २ महिनामै बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।
२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij