Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव, प्रचण्ड र देउवाका कारण ओलीले पाए यसरी अभयदान, ओलीलाई नै किन गरिन्छ अझै तानातान ?

माधव, प्रचण्ड र देउवाका कारण ओलीले पाए यसरी अभयदान, ओलीलाई नै किन गरिन्छ अझै तानातान ?


  • 7.5K
    Shares

    माधव, प्रचण्ड र देउवाका कारण ओलीले पाए यसरी अभयदान, ओलीलाई नै किन गरिन्छ अझै तानातान ?

    काठमाडौं । एक निमेषमै ओली सरकार हटाउने भनेको महिनौ दिन बितिसक्दा पनि उनलाई हटाउने जुक्ति कसैले फेला पार्न सकेका छैनन्। तथापी ओली झन् शक्तिशाली दरिएका छन् । 

    माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को लिखित प्रतिबद्धता आएमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सरकारको नेतृत्व लिन आफू तयार हुने सन्देश दिएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरी जसपासहितको प्रतिबद्धता उनको पछिल्लो ‘बटम लाइन’ बनेको छ । जसपा स्पष्ट नभएसम्म कांग्रेस अघि बढ्नु ‘अर्थहीन’ हुने भनाइ देउवाको छ । किनभने प्रधानमन्त्री केपी शर्मा ओलीसँगै वार्तामा जसपामै रहेपछि देउवा अग्रसर हुन नसकेका हुन् ।

    ‘राजनीति नबुझी केटाकेटी खेले जस्तो कुरा नगर्नु भन्दै देउवाले भेट्न आउनेलाई हकार्न थालेका छन्,’ देउवा निकट एक नेताले भने, ‘मौखिक रूपमा कुरा गरेर केही हुँदैन । जसपाको लाइन स्पष्ट नभएसम्म के गर्नु ? लिखित रूपमा सहमति गरेर आउनु, अन्यथा कांग्रेस प्रमुख प्रतिपक्ष हो । त्यस्तै स्थिति रहन्छ अरु केही समय ।’ 

    देउवा निवास बुढानिलकण्ठ दैनिकजसो नेताहरू पुग्दै सरकारको नेतृत्व गर्न हिचकिचाउनु हुँदैन भन्‍ने दबाब दिइरहेका छन् । त्यस्तो दबाब सुनेपछि कतिपय बेला देउवा ‘इरिटेटेड’ हुन पुगेको अनुभूति बटुल्दै फर्कन्छन् । संसदीय गणितको हिसाब–किताबमा माहिर देउवा ‘खेल’ बुझेपछि मौन भएका हुन् । त्यहीकारण उचालेर थचार्ने खेलबाट बच्न खोज्दैछन् ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा र माओवादी केन्द्रको संयुक्त प्रतिबद्धता भएको खण्डमा मात्रै देउवाले अग्रसर हुने रणनीति बनाएका छन् । अर्कातिर एमाले भित्रैबाट संसद्मा माधवकुमार नेपाल समूहले ह्विप क्रस गरेको हेर्ने चाहना पनि देउवाको छ ।

    अन्यथा ओलीले ७६ को उपधारा ३ अन्तर्गत विश्वासको मत लिने प्रयास गर्दै पुनः निर्वाचनमा लैजान सक्ने आँकलन पनि देउवाको छ । देउवा ओलीबाहेकका शक्तिसँग सहकार्य गर्ने रणनीतिमै छन् । तर, त्यसमा कांग्रेसले आँट नगरेको जसपा अध्यक्ष उपेन्द्र यादवको धारणा छ । ‘खोई, देउवाजीले खुट्टा नटेक्दा समस्या देखा परेको हो,’ उनले भने, ‘देउवा र ओलीजीको प्रेम बुझ्‍न सकिएन । उहाँहरुको अनौपचारिक सहकार्यले राजनीतिक अन्यौलता अझै बढेर गएको छ ।’

    देउवा निकट नेताले भने यादवको धारणालाई अस्वीकार गदै जसपाभित्रको दुई गुटका कारण समस्या आएको हो । जसपा ‘दुवै हातमा लड्डु’को लोभमा परेको छ । यो नभए त्यो भन्ने लाइन जसपाभित्र छ । यादव, डा। बाबुराम भट्टराईहरु एकातिर छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोलगायत अर्कातिर । यादव यो विषय अस्वीकार गर्छन् । यादव भन्छन्, ‘जसपा होइन, देउवा नै बरु दाउ हेरिरहेका छन् । सत्तामा जाँदा ठीक कि बाहिर बसेर अनौपचारिक रूपमा ओलीलाई साथ दिन ठीक भनी अलमलमा प्रमुख प्रतिपक्ष पर्दा यस्तो समस्या आएको हो ।’

    गत फागुन २३ गतेको सर्वोच्च अदालती आदेशसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग भएपछि सरकारको नेतृत्वमा कांग्रेसको पल्ला भारी देखिए पनि सत्ताको हिसाबमा निकै निपुण देउवाले कम्युनिस्टको भर नहुने भन्दै आएका छन् । देउवा पक्षीय एक नेताले भने, ‘कुनै पनि दिन माओवादी र एमाले फेरि सहकार्य गर्न सक्ने हुनाले यतिखेर उत्साहित हुनु जरुरी देखिन्‍न ।’

    हुन पनि माओवादीले फिर्ता लिन्छु भन्दै भित्र–भित्रै प्रधानमन्त्री केपी ओलीसँग बार्गेनिङ गरेको झैं देखिएको अवस्थालाई देउवाले नियालिरहेर यस्ता धारणा बाहिर आएका हुन् । हुन त, सार्वजनिक रूपमा पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । यद्यपि अझै ठोस निर्णयमा माओवादी पुग्न सकेको छैन । माओवादीले समर्थन फिर्ता लिएमा जसपाको एक पक्षले ओली समर्थन गर्न सक्ने विश्लेषणसहित त्यो सरकारमै अडिएको छ ।

    बृहत् नागरिक आन्दोलनको कार्यक्रममा अध्यक्ष दाहालले अब धेरै नकुर्ने भन्दै एकरदुई दिनमै समर्थन फिर्ता लिने बताएपछि अन्य गृहकार्य अघि बढेको देउवा निकट स्रोतले बतायो । हुन त, देउवालाई दलभित्रबाट एक पक्षले सरकारमा नजान सुझाएका छन् भने केहीले जान भनिरहेका छन् । तर, देउवा यसमा निश्चिन्त अझै छैनन् । सरकारको नेतृत्व लिने गरी कांग्रेस अझै अग्रसर छैन ।

    कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपाली कांग्रेसको प्राथमिकता के हो त्यो स्पष्ट पार्दै अघि बढ्नुपर्ने अवस्था आएको बताए । राजनीतिक रमिता हेरेर बस्ने कि निकास दिन अग्रसर हुने भन्ने विषयमा कांग्रेस सभापति देउवाले सोच्नुपर्ने उनले बताए । ‘कुनै शक्तिको आश वा भरमा नपरी कांग्रेसले आफ्नो तवरको निर्णय गर्नुपर्छ’ उनले भने, ‘माओवादी केन्द्र र जसपा पनि स्पष्ट हुनुपर्छ । अन्यथा, ओलीजीको नेतृत्व रहिरहने पो देख्छु ।’

    कांग्रेस पनि यतिबेला के गर्दा कम्युनिस्ट कमजोर हुन्छन् भन्नेमा सोचमा देखिन्छ । प्रधानमन्त्री ओलीद्वारा विघटित प्रतिनिधि सभा अदालतले बिउँत्याइदिएपछि पनि लाचार ढंगले सरकारमा छन् । अदालतबाट संविधान उल्लंघनकर्ता भएको प्रमाणित हुँदा पनि सरकारमै रहनु लाचारीको पराकाष्ठा हो ।माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले पनि देउवाभन्दा जसपाको भूमिकाले आफूहरु अलमलिएको बताए । 

    देउवाको धारणा स्पष्ट छ, जसपासँग माओवादी केन्द्रले सहकार्य गरेर आएमा सहयोग गर्न तयार रहेको बताएका छन् । तर जसपाको नीति स्पष्ट नभएको कारण अर्को सरकार बन्ने विषय अन्यौलमा रहेको उनको धारणा छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १४:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij