२०८२ भाद्र २ गते सोमवार
काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह पार्टीभित्रै अन्तरसंघर्ष गर्ने निचोडमा पुगेका छन् । तर, यसका लागि २ जेठ २०७५ को एमालेको केन्द्रीय र स्थायी कमिटीको बैठक बोलाउन माग गर्ने तयारीमा छन् । र, त्यो माग भोलि (शुक्रबार) बस्ने आफ्नो पक्षको केन्द्रीय कमिटीको बैठकबाट निर्णय लिनेछन् । एमालेलाई पुनर्गठन गरेर जानुपर्ने मत राख्ने नेताहरू पनि थिए ।
तर, १० चैतको साँझ झण्डै ७ घण्टा लामो बैठक बसेको खनाल-नेपाल समूहको स्थायी कमिटीले अनौपचारिक रुपमा निर्णय गर्यो, तत्काललाई ओलीसँग पार्टीभित्रै वैधानिक मोर्चाबाट संघर्ष गर्ने । त्यही सहमतिअनुसार आज माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टीलाई स्पष्टीकरण बुझाउनेछन् । राजनीतिक मुद्दामा केन्द्रित हुने स्पष्टीकरण पार्टीलाई बुझाउने मात्र होइन, सार्वजनिक पनि गर्नेछन् ।
एमाले उपाध्यक्ष युवराज ज्ञवाली भने १२ चैतको केन्द्रीय कमिटीको बैठकले एमाले एकढिक्का कसरी राख्न सकिन्छ भन्नेबारे सुझाव माग्ने बताउँछन् । ज्ञवाली भन्छन्, ‘केपीजी एमाले फुटोस् र हाम्रो समूहलाई छिर्नै नदिने सुनियोजित योजनामा हुनुहुन्छ, यस्तो अवस्थामा कसरी अगाडि बढ्न सकिन्छ भनेर केन्द्रीय कमिटीका साथीहरूसँग छलफल हुनेछ ।’
खनाल-नेपाल समूहमा ओलीले कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्रियतामा खतरा सिर्जना गरेकोमा भने एकमत छ । त्यसैले २ जेठ २०७५ कै सांगठनिक एमाले अनुसार संघर्षलाई निरन्तरता दिने खनाल-नेपाल समूहका नेता ज्ञवालीको तर्क छ । ज्ञवाली भन्छन्, ‘एमाले हाम्रो घर हो, हाम्रा गुनासाहरू थुप्रै भए पनि एमाले एउटै बनाउने भन्ने मत हो ।’
एमाले एकतावद्ध गर्ने सन्दर्भमा पनि खनाल-नेपाल समूहमा खासगरी तीनखाले विचार देखिएको थियो । अध्यक्ष ओलीसँग बढ्ता नै रुष्ट देखिएका र कठोर नीति लिनुपर्ने समूहको नेतृत्व भीम रावलले गरेका छन् । लामो समयदेखि ओली र रावलबीच टकराव छ ।
एमाले र माओवादीबीच एकतापछि ओलीको चर्को आलोचक रहँदै आएका रावलप्रति ओली पनि त्यति सकारात्मक छैनन् । दुईबीचको तित्ततापूर्ण सम्बन्धकै कारण हुनसक्छ, अहिले रावलको मत ओलीसँग झुक्न नहुने भन्ने छ । ५ चैतको संसदीय दलको बैठकमा स्थायी कमिटी सदस्यबाहेक सांसद सहभागी हुने निर्णय भएको थियो ।
सानेपाको हेरिटेज गार्डेन पार्टी प्यालेसमा कार्यकर्ता भेलाका बीच त्यो निर्णय भएलगत्तै रावल असहमत देखिए । र, बैठकका लागि बालुवाटार हिँडेका सांसदबीच बाटोबाटै फर्काउनुपर्यो । पूर्वप्रधानमन्त्रीलाई ओलीले अपमान गर्ने भन्दै रावल चर्किएपछि त्यसमा माधव नेपाल सहमत भइदिए अनि सांसदलाई फोन गरे फिर्ता बोलाउनु पर्यो । रावलजत्तिकै त होइन तर ओलीसँग झुक्न नहुने मतमा भने नेता नेपाल पनि सहमत छन् ।
खनाल–नेपाल समूहको अर्को मत भने सैद्धान्तिक रुपमा मत मिल्दा ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा बेदुराम भुसाललगायतका केही नेताहरू छन् । भुसालसहितका केही नेताहरू सैद्धान्तिक पक्षबाहेक खास विमति छैन ।
स्रोतका अनुसार अहिले घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताहरू भने पार्टीभित्रै संघर्ष गर्नुपर्ने पक्षमा छन् । उनीहरूले अध्यक्ष ओलीसँग संगठनभित्रै डटेर सामना गर्नुपर्ने मत राखिरहेका छन् । भट्टराईलगायत केही नेताहरूको सार्वजनिक अभिव्यक्ति पनि सन्तुलित खालकै हुने गरेको छ । गोकर्ण विष्ट पनि सन्तुलित मत राखेर पार्टीभित्रै संघर्ष गर्नुपर्ने पक्षमा छन् ।
उपाध्यक्ष ज्ञवाली भने खनाल(नेपाल समूहमा फरक विचार समूहहरू नभएको दाबी गर्छन् । ज्ञवाली भन्छन्, ‘एमाले पुनगर्ठन गर्ने सन्दर्भमा हामीभित्र एकढिक्का मत छ । अरु विचार फरक कुरा हो ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij