२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो शक्ति आफै बढाउन अर्कौ चाल चलेका छन् । शनिबार संसदीय दल र केन्द्रिय समितिको बैठक गर्दै ओलीले आफ्नो चाललाई औपचारिकता दिएका हुन् ।
प्रधानमन्त्रीले शनिबार आफ्ना ठूला विरोधीलाई स्पष्टिकरण सोधेर साना विरोधीलाई स्वागत गरेका छन् । उनले संसदीय दलको बैठकमार्फत् माधवकुमार नेपाल समूहका कृष्णभक्त पोखरेललाई आफूतिर तानेका हुन् । प्रतिनिधि सभा विघटनपछि पोखरेल ओलीविरुद्ध सडकमै उत्रिएका थिए ।
अर्कोतर्फ प्रधानमन्त्री ओलीले आफूतिर तान्न नसकिने प्रभावशाली नेताहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गराएका छन् । शनिबार नै बसेको केन्द्रीय कमिटी बैठक मार्फत् ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गराएका हुन् । स्पष्टिकरण सोधिएका नेताहरूलाई पार्टीको निर्देशन विपरीत एमालेकै ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला गरेको आरोप लगाइएको छ ।
त्यस्तै यही बैठकले केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्तावलाई पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यही बैठकले फागुन २८ गतेको निर्णय अनुमोदन गरेको गर्दै केन्द्रीय समितिलाई महाधिवशेन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजन कमिटी गठन गरेको र आयोजक कमिटीको अध्यक्षमा केपी ओली र महासचिवमा इश्वर पोखरेललाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
फागुन २८ गतेको बैठकले एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले २६४ केन्द्रीय सदस्यको कार्य विभाजनको प्रस्ताव गर्न विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
यस्तै प्रदेश कमिटी बनाउँदा प्रदेशका इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय भएको छ । यस्तै बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापनमा २२ अप्रिलका दिन मदननगर बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय पनि गरेको उनले बताए । ज्ञवालीले आत्मसमीक्षासहित आउने नेपाल समूहमा लागेका नेताहरुलाई पार्टीमा स्वागत गर्ने पनि बताए ।
सरकार टिकाउनकै लागि अनुचित सम्झौता नगर्ने र घेराबन्दी गरिएको अवस्थामा नयाँ शक्तिको रुपमा आउने बैठकले निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए । बैठकले संसदीय दलको संशोधित विधान केन्द्रीय कमिटीबाट पारित भएकोसमेत उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij