२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपामा लफडा भए पछि एकता अभियान घोषणा गर्दै त्यसैको संयोजक समेत रहेका बामदेव गौतम एमालेका उपाध्यक्ष थिए। तर, २०७७ फागुन २८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारीको पद खारेज गरेपछि केन्द्रीय सदस्यमा सिमित भएका छन्।
जतिबेला ओली पक्षीय केन्द्रीय सदस्यहरूको मात्र विशेष बैठक बालुवाटारमा बोलाएर माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहितका पदाधिकारीको पद खारेज गरी जिम्मेवारीबाट मुक्त गरेको हो।
तुलसा थापा बामदेवकी पत्नी हुन्। पत्नी तुलसा ओली पक्षतिर खुलेपछि बामदेव पनि ओलीतिरै लाग्ने अनुमान गरिएको छ। यो आशंकाहरु बढ्न थालेको छ।
एमालेभित्रको विवादसम्म कतै नखुलेका लालबाबु पण्डित र तुलसा थापा ओली समूहतिर खुलेका हुन्। तुलसा प्रतिनिधिसभाको समानुपातिक सांसद हुन् भने पण्डित निर्वाचित सांसद हुन्।
थापा एमाले एकता अभियानमा सक्रिय थिइन् भने पण्डित जनताको बहुदलीय जनवादलाई मान्ने र कुनै गुट भेलामा नजाने निर्णय गरेर बसेका थिए।
आज बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा तटस्थ रहेका पण्डित र थापा उपस्थित थिए।
नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएपछि बामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा तटस्थ थिए। जतिबेला नेकपा दुई समूहमा विभाजित भएको थियो – ओली समूह र प्रचण्ड–माधव समूह। उनीहरु कतै पनि खुलेका थिएनन्।
२३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रतिर लागे, माधव नेपाल, झलनाथ खनाललगायत नेताहरु एमालेतिर नै फर्किएका थिए।
त्यसपछि एमालेमा पनि दुईवटा समूह भएको छ, ओली समूह र झलनाथ–माधव समूह। दुवै समूहले आ–आफ्नो रणनीति बनाइरहेको छ।
ओली समूहले गुटको राजनीति गरे झलनाथ–माधव समूहका नेताहरुलाई कारबाही गर्ने चेतवानी दिएको छ भने झलनाथ–माधव समूहले कारबाही भोग्न तयार रहेको बताउँदै आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij