२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर अघि बढ्न माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् ।
माधव नेपाल पक्षले भने फागुन २८ गते ओली पक्षले एकतर्फी ढंगले गरेको निर्णय बदर गर्नुपर्ने अडान राखेको छ ।
पछिल्लो समय पार्टीमा देखा परेको विवाद समाधानका लागि दुवै पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।
झण्डै ३ घण्टा पार्टी कार्यालय धुम्बाराहीमा बसेको दुई समूहको छलफल सकारात्मक भएको एमालेका नेता रघुजी पन्तले जानकारी दिए ।
पन्तले भने, ‘सौहार्दपुर्ण रुपमा वार्ता भयो । वार्ता सकारात्मक भयो । कुराकानी जारी रहन्छ । कुराकानी जारी राख्ने तर अहिलेको अवस्थामा आ–आफ्ना अडान कायमै छन् ।’
बैठकपछि प्रतिक्रिया दिँदै नेता पन्तले एमालेलाई बलियो बनाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भूमिका खेल्ने अपेक्षा राखेको भन्दै आफ्नो अडान कायमै रहेको बैठकमा भनेको बताए ।
बैठकमा प्रधानमन्त्री ओली र माधव नेपाल, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त सहभागी थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij