२०८२ मंसिर ६ गते शनिवार
कास्की । गण्डकी प्रदेशसभाको हिउँदे अर्थात् विधेयक अधिवेशन आज (बिहीबार) देखि शुरु हुँदैछ । झण्डै ६ महिनापछि गण्डकी प्रदेशसभा वैठक बस्न लागेको हो ।
सरकारले पर्याप्त विधेयक तयारी नगर्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्र केसीका अनुसार प्रदेशसभा बैठक नदीपुरस्थित आफ्नै भवनमा बस्नेछ ।
यसअघि कोरोना महामारीका कारण ठाउँ साँघुरो भएपछि पोखरा सभागृहमा बैठक सञ्चालन गरिएको थियो । एउटा अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र अर्को अधिवेशन सञ्चालन गर्नुपर्ने व्यवस्था छ । बिजनेस अभावकै कारण बैठक धकेलिएको संसद् सचिवालयले जनाएको छ । यसअघिको बजेट अधिवेशन गत असोज ५ मा सकिएको थियो ।
हिउँदे अधिवेशनमा ४ विधेयक पारित गर्ने सरकारको तयारी छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले कतिपय पुराना ऐन पनि संशोधन गर्ने तयारी रहेको बताए । खानेपानी, सिँचाइ र सूचनाको हकसम्बन्धी विधेयक सरकारले प्रदेशसभा लैजाने तयारी गरेको छ ।
गत कात्तिक ११ मा सचिवालयमा दर्ता भएको गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक, विधायन समितिमा दफावार छलफलमा रहेका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आमसञ्चार र बालबालिकासम्बन्धी विधेयकलाई पारित गर्ने तयारी सरकारको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij