Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल


  • 127
    Shares

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    images

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ। ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ। 

    समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र हो। 

    ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए। उनका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामकरण गरेका थिए।

    नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ। आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि यो तालनै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ। 

    पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरी हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। 

    हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो।

    अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ।

    वरपर सेताम्मे हिमाल र जमेर बरफ बनेको पञ्चकुण्ड तालले यस क्षेत्रलाई मनोमहक बनाएको आधार शिविरको पदयात्रामा गएका बेनीका सन्दीप खत्रीले बताए। चिसो बढेसँगै अन्नपूर्ण पदयात्रामा चहलपहल घटेको स्थानीय होटल ब्यवसायी माइकल पुनले बताए।  

    दसैँ, तिहार र छठ पर्व बिदाका अवसरमा दैनिक रूपमा दुई सय देखि तीन सय सम्म पर्यटक आएकोमा यतिखेर दैनिक रूपमा पचास जनाको हाराहारीमा आउने गरेका छन्। असोज–कात्तिकको शरदयाममा करिब १५ हजार भन्दा बढी पर्यटक आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले बताए।

    प्रकाशित मिति :मंसिर ६ २०८२ शनिवार - ०५:५२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij