२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यतालिका छ। चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको छ।
उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दाबीविरोध समय मङ्गलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली भने फागुन २५ गते प्रकाशन गर्ने बारको सूचनामा उल्लेख छ। निर्वाचनका लागि देशभरका विभिन्न ३५ मतदान केन्द्रमा मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ।
बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन हुँदैछ। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन हुन लागेको हो।
यस्तै एसोसिएसनको अध्यक्षमा उम्मेदवारी दिन ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ। यसैगरी उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष प्रत्येक पदमा उम्मेदवारी दिन ३५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको बारको निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ।
सदस्यका लागि भने २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ। चैतमा हुने निर्वाचनका लागि बारले फागुन १० गते दिउँसो ४ बजे मतदाता नामावली प्रकाशन गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij