२०८२ मंसिर ६ गते शनिवार
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको सभापति बुद्ध लामा बन्ने सहमति भएको छ।
दोस्रो चरणमा मतदान गर्ने तयारी हुँदै गर्दा अर्का निकटतम प्रतिद्वन्द्वी आनन्दराम पराजुलीले लामालाई छोड्ने सहमति गरेका हुन्। पहिलो चरणमा लामाले नै अधिक मत ल्याएका थिए। पहिलो चरणमा लामाले ५९२ र पराजुलीले ५४५ मत ल्याएका थिए।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको उपस्थितमा लामा र पराजुली छलफलमा जुटेका थिए। उक्त छलफलबाट लामालाई सभापति बनाउने टुंगो लागेको हो।
छलफलमा उपस्थित एक नेताका अनुसार पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने र प्रदेश समितिमा मनोनयन गर्ने प्रतिबद्वता गरिएको छ।
सोमबार भएको निर्वाचनमा अर्का उम्मेदवार जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका थिए। १ हजार ८५३ प्रतिनिधिमध्ये १ हजार ७७५ प्रतिनिधिले मतदान गरेका थिए।
पहिलो चरणमा सभापति चयन हुन उम्मेदवारहरुले पर्याप्त मत प्राप्त गर्न नसकेपछि निर्वाचन समितिले दोस्रो चरणको मतदान मंगलबार दिउँसो १ बजेदेखि शुरु हुने सूचनासमेत प्रकाशित गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij