२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ।
शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्।
'आगामी जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न गर्ने गरी आवश्यक तयारी थाल्न सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको छ', उनले भने, 'त्यसका लागि आवश्यक संविधान र कानुन संशोधनसहितका प्रक्रिया पनि अघि बढाउन सरकारलाई संयन्त्रले पनि सुझाव दिनेछ।' निर्वाचन मिति तोक्नका लागि सरकार र गठबन्धनले निर्वाचन आयोगसँग आवश्यक परामर्श गर्ने पनि कार्कीले जानकारी दिएका छन्।
'निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी थाल्न गठबन्धन बैठकले सुझाव दिएको छ', उनले भने, 'जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दिशामा गठबन्धन अघि बढेका छन्।'
आगामी वैशाख-जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको थियो। निर्वाचन आयोगले मिति घोषणाका लागि तीन पटकसम्म सरकारलाई ताकेता गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे पत्र पठाएर निर्वाचन सार्ने नाममा गरी संविधान र कानुन संशोधन निराशाजनक हुने बताएकी थिइन्।
शनिबार बिहान बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन मिति नसारी वैशाख-जेठमै गर्ने जनाउ गठबन्धनका नेताहरुलाई दिएका थिए। सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले स्थानीय निर्वाचन आगामी असोज या मंसिरमा गर्न सकिने बताउँदै आएका थिए।
उनीहरुले तीनै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने प्रस्ताव पनि गठबन्धन बैठकमा गरेका थिए। तर स्थानीय निर्वाचन सार्ने उनीहरुको प्रस्तावलाई लिएर चर्को आलोचना भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij