२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ । आम सर्वसाधारणको विभिन्न भेला, छलफल र चियागफ तथा भेटघाटको गन्तव्यस्थल बनेको खुला मैदान अहिले रङ्गीचङ्गी तुल, ब्यानरले भरिएको छ । महाधिवेशन उद्घाटनका लागि सो स्थानमा बनाइएको आकर्षक मञ्चले त झनै भृकुटीमण्डपलाई दुलहीझैँ सिङ्गारेको झलक देखिन्छ । हो, अहिले जो–कोहीको ध्यान खिच्ने स्थल बनेको छ काँग्रेस महाधिवेशन उद्घाटनस्थल, बन्दसत्र तथा मतदानस्थल ।
महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृहमा काँग्रेस ले मतदान गर्न २०० बुथ राख्न लागेकोे नेपाली काँग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनीले जानकारी दिए । महाधिवेशनमा सहभागी हुने चार हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्ने पुडासैनीले बताए । मङ्सिर २४ गते काँग्रेस महाधिवेशनको उद्घाटन हुने र २७ गते मतदान हुने कार्यतालिका छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij