२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । संवैधानिक परिषद्को बैठक मंसिर ३० गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।
आइतबारको बैठकमा प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सोमबार देशव्यापी हुने आन्दोलनका कारण उपस्थित हुन नसक्ने जनाएपछि मंगलबारका लागि बैठक तय भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनामात्रै उपस्थित भएपछि आवश्यक संख्या नपुगेको हो ।
“आजको बैठक कोरम नपुगेर स्थगित भयो । विपक्षी दलका नेता र सभामुख नआएपछि बैठक बस्न सक्ने अवस्था संवैधानिकरूपमा छैन,” स्रोतले भन्यो । प्रमुख प्रतिपक्षी दल तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि बैठक अनौपचारिक गफगाफमा परिणत भएको स्रोतको भनाइ छ ।
संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अधिकार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्लाई हुन्छ ।
संवैधानिक आयोगहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij