२०८२ भाद्र २ गते सोमवार
प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशता तर्फ अग्रसर भएको आरोप नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन्। ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर थप निरंकुशता तर्फ अग्रसर हुँदै गइरहेको प्रमाणित भइरहेको दाबी उनले गरे।
प्रधानमन्त्री ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसकेको आरोप समेत उनले लगाए।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सर्वोच्चबाट संसद पुन:स्थापना हुने विश्वास व्यक्त गरे।
मंगलबार माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्चले संसद पुन:स्थापना मात्र नभई १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने सुचना आफुले पाएको बताए।
उनले संविधानको मर्म र भावना अनुसार संसद पुन:स्थापनाको विकल्प नरहेको बताए।
‘संसद पुन:स्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ त्यता तर्फ म कल्पनासम्म गर्न सक्दिँन’, उनले भने । संविधान त्रुटिपूर्ण रहेको स्वीकार गर्दै संविधान संशोधनको पक्षमा आफू रहेको प्रचण्डले बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij