२०८३ कार्तिक २ गते आइतवार
काठमाडौं । भारतको पश्चिम बंगाल राज्यको कोलकातास्थित चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा भएको भागदौडमा परी कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा महिला र बालबालिकासहित केही मानिस घाइते छन् । ९१ वर्षदेखि आयोजना गरिँदै आएको उक्त पूजामा यसअघि यस्तो गम्भीर दुर्घटना नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले सुरुमा १७ र पछि थप दुईजनाको मृत्यु भएको जानकारी दिएका छन् । घटनामा घाइते भएका २४ जनाको अवस्था खतरामुक्त छ । एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मुख्यमन्त्री अधिकारीले घटनापछि आफ्ना सबै निर्धारित कार्यक्रम रद्द गरिएको बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहको प्रस्तावित भ्रमण समेत स्थगन गरिएको छ ।
मुख्यमन्त्रीले मृतकका परिवारलाई जनही २५ लाख भारु आर्थिक सहयोगको घोषणा गरेका छन् । प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने पनि उनले घोषणा गरेका छन् । सरकारले घाइतेहरूको उपचार खर्च व्यहोर्ने र उनीहरूलाई जनही पाँच लाख भारु क्षतिपूर्ति दिने पनि जनाएको छ ।
घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको छ । घटनाको छानबिन कोलकाता उच्च अदालतका न्यायाधीशमार्फत गराइने मुख्यमन्त्रीले जानकारी दिएका छन् ।
मुख्यमन्त्रीका अनुसार, घटना स्थानीय समयानुसार शनिबार बेलुका करिब ७ः३० बजे भएको थियो । कोलकाता प्रहरीले घटनास्थलको सीसीटीभी दृश्य जाँच गरिरहेको छ । लापरबाही गरेको पुष्टि भएमा दोषी जोसुकैलाई कानुनी कारबाही गरिने जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij