Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

आज दिनभरको २८ खबर एकै ठाउँमा

आज दिनभरको २८ खबर एकै ठाउँमा


  • 596
    Shares

    आज दिनभरको २८ खबर एकै ठाउँमा
    images

    १. सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी

    सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी समयसापेक्ष र व्यावसायिक संगठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अगाडि बढाएको जनाएको छ । ७१ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाउने प्रवृत्तिको अन्त्य गरिने र सेवा अवधिसम्बन्धी विषयमा समेत समयानुकूल परिमार्जन गरिने घोषणा गर्नुभएको हो ।

    २. सांसद सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ

    सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि निर्णयहरु सुनाउने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस्तो बताउनुभएको हो । सांसद सुनारले एक महिलामाथि अश्लिल शब्दहरु प्रयोग गरी धम्की दिएको आरोपसहितको अडियो बाहिरिएको थियो । सोही बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले सरकारले आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत रुपमा हेरी अघि बढ्ने बताउनुभएको हो । 

    ३. सरकार सैद्धान्तिक रूपमा विचलितः कमला पन्त

    नेपाली काँग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाउनुभएको छ । शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पन्तले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गरिरहनु लोकतान्त्रिक मूल्य–मान्यता विपरित भएको जिकिर गर्नुभएको हो । नेतृ पन्तले सरकारसँग स्पष्ट दृष्टिकोणको अभाव रहेको बताउँदै सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा सरकारको ध्यान नगएको आरोप लगाउनु भयो ।

    ४. संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः मुख्यमन्त्री यादवद्वारा प्रहरी समायोजन तत्काल टुङ्ग्याउन माग

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले सुनिश्चित गरेका अधिकार र आवश्यक प्रशासनिक संरचना प्रदेशलाई हस्तान्तरण नगरिँदा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको बताउनुभएको छ । नेपाल प्रहरीको ७१ औँ स्थापना दिवसका अवसरमा मधेस प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अधिकारविहीनताकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार गति लिन नसकेको स्पष्ट गर्नुभएको हो । 

    ५. मिथिलाको सांस्कृतिक धरोहर झिझियाः तान्त्रिक परम्परा र आधुनिक चुनौतीबीचको अस्तित्व

    दशैँको आगमनसँगै मिथिलाञ्चलका गाउँबस्तीमा टाउकामा दियोसहितको घैँटो बोकेर नाचिने ‘झिझिया’ नृत्यले सांस्कृतिक र तान्त्रिक महत्वका साथ पुनः चर्चा पाएको छ । घटस्थापनादेखि विजयादशमीसम्म देवीको स्तुतिमा गरिने यो नृत्य मिथिलाको मौलिक पहिचानको अभिन्न अङ्ग हो । झिझिया केवल मनोरञ्जनको साधन नभई तान्त्रिक विधि र दार्शनिक मान्यतासँग जोडिएको एक विशिष्ट अनुष्ठान हो । असंख्य प्वाल पारिएको माटोको घैँटोमा प्रज्वलित दियो राखेर गरिने यो नृत्यलाई मानव शरीर र चेतनाको प्रतीक मानिन्छ । 

    ६. मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले बुझाए राजीनामा

    नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा एमालेबाट मन्त्री रहेकाहरूले शुक्रवार नै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको हुन् । त्यस्तै एमालेका मन्त्रीहरुले प्रदेशप्रमुख डा. सुरेन्द्र लाभलाई समेत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । 

    ७. भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवद्र्धन गर्न संयुक्त पहल आवश्यकः अध्यक्ष श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीचको व्यापार घाटा न्युनिकरण गर्न, लगानीका अवरोध हटाउन तथा द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताउनुभएको छ । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ८. प्रहरी सेवामा प्रविधि र विशेष सेलको विस्तारः नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताउनुभएको छ । शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताउनु भयो । 

    ९.प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर

    वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताउनुभएको छ । संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य भए पनि प्रक्रिया टुंगिन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । 

    १०. प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्

    गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयाोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताउनु भयो । 

    ११. प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं–प्रधानमन्त्री साह

    प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको जानकारी दिनुभयो ।

    १२. पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रवार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले पार्टी केन्द्रिय समितिको प्रभावकारिताका लागि आफ्नो टिममा छुटेका नेताको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । थापाले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा नहेर्न आग्रह गर्नुभयो । 

    १३. पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वीपी कोईराला र गणेशमान सिंहको पालाका मुद्दाले आजको समाजको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अबको काँग्रेस समसामयिक प्रश्नहरूको हल खोज्न तल्लीन हुनुपर्ने बताउनुभएको हो । 

    १४. नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत ढाँचाबाट माथि उठाएर उत्पादन, उच्च प्रविधि र क्षेत्रीय मूल्य श्रृङ्खलामा आधारित बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले बदलिँदो विश्व परिवेशमा कुटनीति केवल मन्त्रालय र औपचारिक सन्धि–सम्झौतामा सिमित नरही ऊर्जा ग्रिड, डिजिटल भुक्तानी प्रणाली र व्यावसायिक साझेदारीसम्म विस्तार भएको बताउनुभएको हो ।

    १५. नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताउनु भयो । 

    १६. चुम नुब्री, धार्चे, आरुघाट, त्रिपुरासुन्दरी, गल्कोट र ढोरपाटन विपद् संकटग्रस्त क्षेत्र घोषणा

    सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ र वागलुङ जिल्लाका थप दुई वटा स्थानीय तह गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई ३ महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

    १७. आधिकारिक संस्था बिना नै नेपाल फुटबल लिगको घोषणा

    नेपाली फुटबल निकै संकटको अवस्थामा रहेको समय निजी समूहले प्राविधिक साथ र स्वीकृति बिना नै नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरेको छ । नेपाल सुपर लिग (एनएसएल) का सात फ्रेन्चाइज टोली सम्मिलित समूहले छुटै नेपाल फुटबल लिग गर्ने घोषणा गरेका हुन् । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) द्वारा निलम्बनको अवस्थामा छ । 

    १८. असनमा मुस्कुराएको दशैँ–महँगीका बाबजुद परिवारका लागि खुशी जोहो गर्ने नेपाली समाजको जिजीविषा 

    काठमाडौं उपत्यकाको मुटु मानिने असन र इन्द्रचोकका गल्लीहरूमा दशैँको आगमन कुनै क्यालेण्डरको पाना पल्टिएर वा पात्रो हेरेर मात्र हुँदैन । यहाँ हावामा फैलिने सुकुमेल, ल्वाङ र दालचिनीको सुवास, झ्याल–कौसीबाट झुन्ड्याइएका राता कुर्थाहरू, मन्दिरमा बज्ने बिहानीको घण्टी र चङ्गाको धागो बेर्ने चर्खाको खस्रो आवाजले पर्वको शङ्खनाद गर्दछ । असोजको आकाश कञ्चन नीलो भएर जब चोभार र चन्द्रागिरिका डाँडाहरू मुस्कुराउँछन्, तब असनका ढुङ्गा छापिएका साँगुरो गल्लीहरू अचानक जागृत हुन्छन् । 

    १९. अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ

    नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताउनुभएको हो ।

    २०. अफ्रिकी खानी सम्मेलनः महादेशको खनिज सम्पदाबाट अधिकतम लाभ लिन क्षेत्रीय सहकार्यमा जोड

    दक्षिण अफ्रिकाको केप टाउनमा ‘अफ्रिकन माइनिङ वीक २०२६’ को भव्य शुरुवात भएको छ । तीन दिनसम्म चल्ने यो सम्मेलनले अफ्रिकाको खनिज सम्पदाको पूर्ण उपयोग गर्न क्षेत्रीय सहकार्य, लगानी अभिवृद्धि र औद्योगिक विकासमा केन्द्रित हुनुपर्ने सन्देश दिएको छ । केप टाउन इन्टरनेसनल कन्भेन्सन सेन्टरमा बुधवारदेखि शुरु भएको यस सम्मेलनको मुख्य नारा ‘माइनिङ द फ्युचरः अनअर्थिङ अफ्रिकास फुल मिनरल भ्यालु’ (भविष्यको खानीः अफ्रिकाको खनिज मूल्यको खोजी) रहेको छ ।

    २१. इस्तानबुलमा भीषण बाढी र डुबानः ३ को मृत्यु, ५ जना बेपत्ता

    टर्कीको इस्तानबुलमा बुधवारदेखि परेको भीषण वर्षाका कारण आएको बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना अझै बेपत्ता छन् । सडक र बस्ती जलमग्न भएपछि हजारौं मानिस अलपत्र परेका छन्, जसको उद्धारका लागि स्थानीय प्रशासनले युद्धस्तरमा काम गरिरहेको छ । बुधबार बिहानैबाट शुरु भएको मुसलधारे वर्षाले इस्तानबुलको जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ । सायरियर जिल्लाको आयाजागा क्षेत्रमा बाढीले बगाएको एक व्यक्तिको शव फेला परेपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

    २२. जापानी महिलाको हत्यापछि टोकियोमा अमेरिकी सैनिकविरुद्ध प्रदर्शन, ओकिनावाबाट आधार शिविर हटाउन माग

    जापानको ओकिनावामा अमेरिकी मरीनद्वारा एक स्थानीय महिलाको हत्या गरिएको घटनालाई लिएर टोकियोस्थित अमेरिकी दुतावास नजिकै विरोध प्रदर्शन भएको छ । आक्रोशित नागरिकहरूले ओकिनावाबाट अमेरिकी सैन्य आधार हटाउन र अमेरिकी सेनाको आपराधिक गतिविधिलाई रोक्न माग गरेका छन् । गत अक्टोबर ३ मा ओकिनावाको राजधानी न्हाहास्थित एक होटलमा २० वर्षीय अमेरिकी मरीन डेभिन बेलार्डले एक जापानी महिलाको हत्या गरी उनको वालेट र अन्य सामान लुटेको आरोप लागेको छ ।

    २३. पाकिस्तानको खैबर पख्तुनख्वामा विद्यालयको छत खस्दा ३३ विद्यार्थीको मृत्यु

    पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा बिहीबार एक विद्यालयको छत भत्किँदा ३३ जनाको मृत्यु भएको छ । पेशावरस्थित लेडी रिडिङ अस्पतालकाअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेका छन् । पेशावरको दिर कोलोनीस्थित दुई तले विद्यालय भवनको छत भारी वर्षाका कारण भत्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय उद्धार सेवा ‘रेस्क्यू ११२२’ का प्रवक्ता बिलाल अहमद फैजीकाअनुसार विद्यालयको छत खस्दा भवनभित्र रहेका विद्यार्थीहरू पुरिएका थिए । 

    २४. भारतको बिहारमा डुङ्गा दुर्घटनाः १३ को मृत्यु, अधिकांश बालबालिका

    भारतको पूर्वी राज्य बिहारस्थित वैशाली जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहेको स्थानीय प्रहरीले पुष्टि गरेको छ । स्थानीय प्रहरी अधिकारीकाअनुसार मङ्गलवार राति गङ्गा नदीमा यात्रु बोकेको डुङ्गा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो । दुर्घटना वैशाली जिल्लाको राघोपुर प्रहरी चौकी अन्तर्गतको क्षेत्रमा भएको थियो । प्रहरीको प्रारम्भिक विवरणअनुसार दुर्घटनाको समयमा डुङ्गामा दुई दर्जनभन्दा बढी यात्रु सवार थिए । 

    २५. ८० निकायमा ६११ पदाधिकारी नियुक्त

    सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले विभिन्न सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका निकायमा नयाँ पदाधिकारी नियुक्त तथा पदपूर्ति गरिएको हो । अर्यालले असोज २६ देखि हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट सम्पादन भएका प्रमुख कामबारे जानकारी दिँदै शुक्रवार नियुक्ति प्रक्रियालाई खुला, प्रतिस्पर्धात्मक र पारदर्शी बनाइएको बताउनु भयो । 

    २६. एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

    नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रिय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो । अब दशैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेससम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ । 

    २७. म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्दै धितोपत्र बोर्ड

    नेपाल धितोपत्र बोडले  म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्ने तयारी अघि बढाएको छ । सर्वसाधारणको वचतलाई पुँजी बजारमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र सामूहिक लगानी कोषलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित धितोपत्र बोर्डले सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा अघि सारेको हो ।

    २८. सातौँ ब्रिटाकोफ सम्मेलनः डिजिटल कर सुशासनमा साझा प्रतिवद्धता

    बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) को सातौँ सम्मेलन सम्पन्न भएको छ । डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित इण्डोनेसियाको राजधानी जकार्तामा अक्टोबर १३ देखि १५ सम्म आयोजित सम्मेलन चलेको थियो ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन ३० २०८३ शुक्रवार - २०:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij