Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

आज दिनभरको २३ खबर एकै ठाउँमा

आज दिनभरको २३ खबर एकै ठाउँमा


  • 1.0K
    Shares

    आज दिनभरको २३ खबर एकै ठाउँमा
    images

    १. जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’

    जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य छ । तर जलवायु संकटका कारण बढ्दो विपद्को सबैभन्दा गहिरो चोट भने नेपालका हिमाली र नदीकिनारका समुदायले व्यहोरिरहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले यही असमानताको पीडादायी तस्बिर छोडेर गएको छ । त्यही पीडा, आक्रोश र अनुत्तरित प्रश्नलाई शब्द र संगीतमा उतारेका छन् डी. डी. पन्तले ‘ए नदी ए हिमाल’मा । यो गीतले बाढीको शोक मात्र व्यक्त गर्दैन, प्रकृति, विकास र मानवीय जिम्मेवारी माथि प्रश्न पनि गर्छ । प्रविधि, कला र सामूहिक स्मृतिको दस्तावेज यो गीतले व्यक्तिगत शोक र ऐँठनलाई सार्वजनिक बहसमा परिणत गर्दै भविष्यका लागि एउटा सामूहिक स्मृतिको तमसुक गरेको छ । गीत मार्फत पन्तले भोटेकोशीको बाढी पछि प्रकृतिलाई जित्ने होइन, बुझ्नुपर्ने पाठ मानिसले सिक्नुपर्ने र प्रकृतिको दोहन गर्नेहरुले समयमै जिम्मेवारी बोध गर्नुपर्ने चेतावनी पनि दिएका छन् । 
    भोटेकोशीको बाढीले घर, सडक, पुल र संरचना मात्रै बगाएन । त्यसले मानिसका वर्षौंका श्रम, परिवारका सपना, जीविकोपार्जनका आधार र भविष्यका योजना समेत बगायो । यही मानवीय क्षतिको बीचमा आएको ‘ए नदी ए हिमाल’  शोकगीत भन्दा बढी— विपत्तिले जन्माएको जलवायु न्यायको सांगीतिक अभिव्यक्ति पनि हो ।

    २. रास्वपा सचेतक धितालको अभिव्यक्तिविरुद्ध जेन–जी शहीद परिवार आक्रोशित, माफी माग्न माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जेन–जी शहीद स्मृति दिवसका विषयमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेन–जी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद, घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका हुन् । उनीहरुले सत्तारुढ रास्वपा संसदीय दलको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन् । समाजका अध्यक्ष तथा जेन–जी शहीद धीरजका बुवा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई ‘कन्सर्ट’को संज्ञा दिनु आपत्तिजनक भएको बताउनु भयो । 

    ३. रातो पहिरनमा उर्लिएको आस्थाको सागरः पशुपतिनाथमा हरितालिका तीजको अलौकिक भव्यता

    देवादिदेवको आराधना, छमछमी नाचेका पाउ, धूप–दीपको सुगन्ध र नारी शक्तिको अनुपम उत्सव 
    भाद्र शुक्ल तृतीयाको यो उज्यालो बिहानी । जब वागमतीको कञ्चन किनारमा अवस्थित देवादिदेव महादेवको परम पावन धाम श्री पशुपतिनाथको चारै ढोका खुले, तब मानौं सारा काठमाडौं उपत्यका र सिङ्गो देश नै रातो रङ्गको पवित्र समुन्द्रमा रूपान्तरित भयो । सिन्दूरको लाली, पोतेको हरियो आभा, पहेंलो चुराको झङ्कार र हातमा सजिएका मेहन्दीका बुट्टाहरूले पशुपति परिसरलाई मात्र होइन, धर्ती र आकाशलाई नै नववधू झैं सिँगारेका थिए । 
    हरितालिका तीज–यो केवल एउटा पर्व मात्र होइन, यो त नारी हृदयको अटुट सङ्कल्प, अखण्ड सौभाग्यको अभिलाषा, त्याग, तपस्या र शिव–पार्वतीको अमर प्रेमको साक्षात प्रतिमूर्ति हो । कठोर निर्जला व्रत बसेर पनि मुहारमा कुनै शिथिलता थिएन, बरु आँखामा अनन्त आस्थाको तेज, ओठमा हर–हर महादेवको मन्द मुस्कान र पाउहरूमा तीजको मौलिक लयमा छमछमी नाच्ने बेजोड ऊर्जा थियो । 

    ४. बाढीको पीडाबीच तीज, पशुपतिमा भक्तजनको भीड; ‘यसपालि रौनक कम छ’

    हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, पारिवारिक सुखशान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामवद्ध भएर पूजाआराधना गरिरहेका छन् । यसपटक भने विगतका वर्षको तुलनामा तीजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन् । 

    ५. पशुपतिनाथमा तिजको रौनक, बिहानैदेखि पूजाआराधनाका लागि भक्तजनको घुइँचो

    वैदिक सनातन हिन्दु नेपाली महिलाको प्रमुख पर्व हरितालिका तिज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिजका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजनहरू पूजा तथा आराधनाका लागि लामवद्ध भएका छन् । रातो पहिरनमा सजिएका महिलाहरूको उपस्थितिले पशुपति परिसरमा तिजको विशेष रौनक देखिएको छ । तिजका दिन महिलाहरू भगवान शिवको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्ने परम्परा छ ।

    ६. कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

    भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ । सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेकाअनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भएपनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ । उहाँकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । त्यसपछि आएको अर्को बाढीले नदीको कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो । 

    ७. ‘सहमतिको प्रयास भएन, मिडियाबाजी मात्रै भयो’ः प्रकाशशरण महत

    नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनुभएको छ । उहाँले ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचार गर्ने काम मात्रै भएको दाबी गर्नुभएको हो । सोमवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूसँग ठोस रूपमा संवाद र सहमतिको पहल नभएको बताउनु भयो । उहाँकाअनुसार ३ गते हुने वडा अधिवेशनमा सहभागी भए १४ औँ महाधिवेशनबाट निर्वाचित भएर हाल बाहिर रहेका नेताहरूलाई विशेष अधिवेशनमा समेट्ने प्रश्ताव गरिएको छ । महतले उक्त प्रश्तावलाई अपमानजनक भन्दै पार्टीमा योगदान गरेका नेताहरूलाई कसैको व्यक्तिगत निगाहमा स्थान दिने कुरा स्वीकार्य नहुने बताउनु भयो । 

    ८. ‘विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिन्छ’–मन्त्री वादी

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनुभएको छ । राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताउनुभएको हो । परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ । मन्त्री वादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिवद्धताका साथ पूरा गर्ने बताउनु भयो ।

    ९.‘वार्ता बाहेक हाम्रो कुनै समाधान छैन’– शशांक कोईराला

    नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताउनुभएको छ । उहाँले काँग्रेसलाई विभाजित नभई एकतावद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पार्नुभएको हो । सोमवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोईरालाले पार्टीको १५ औँ महाधिवेशन अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसले नेपाली काँग्रेससँगै नेपालको राजनीतिको आगामी दिशासमेत तय गर्ने बताउनु भयो । संस्थापन पक्षले संस्थापन इतर समूहले राखेका माग सम्बोधन भइसकेको र अब पार्टी एकतामा नआउनुको कारण नरहेको तर्क गरिरहेको विषयमा कोईरालाले दुवै पक्षको धारणा सुन्नुपर्ने बताउनु भयो । उहाँले आफूहरूले पटक–पटक एकतावद्ध भएर अघि बढ्न र वार्तामा बस्न आग्रह गरेको दाबी गर्नुभयो । 

    १०. ‘नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो’–पारस खड्का

    क्रिकेट एशोसिएशन नेपाल (क्यान) का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनुभएको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताउनु भयो । उहाँले अर्जुन कुमाल र शेर मल्ललगायत युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गर्नुभयो । खड्काले क्रिकेट टिम स्पोर्ट भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने बताउनु भयो । 

    ११. ‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’– सन्दीप

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताउनुभएको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किनुभएका उहाँले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताउनुभएको हो । शनिवार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रोपटक एशिया कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एशिया कपमा छनोट भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलतालाई नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताउनु भयो । 

    १२. इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता

    इण्डोनेसियाको जाभा समुन्द्रमा यात्रुवाहक पानीजहाज सम्पर्कविहीन भएपछि भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३० जना अझै बेपत्ता छन् । दुर्घटनामा १०७ जनाको उद्धार गरिएको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले आइतबार जनाएको छ । इण्डोनेसियाका यातायातमन्त्री डुडी पुर्वागन्धीले आईतवार दिउँसो पत्रकार सम्मेलनमा हेलिकप्टरबाट गरिएको अवलोकनअनुसार पानीजहाज पल्टिएको तर पूर्ण रूपमा नडुबेको बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यसअघि राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले पानीजहाज डुबेको जनाएको थियो । दुर्घटनामा परेको ‘भर्गो ट्रान्सपोर्ट ८’ नामक पानीजहाजमा चालक दलसहित कुल २४३ जना सवार थिए। आइतबार बिहान करिब २ बजे खराब मौसमका कारण समस्या आएपछि जहाजसँग सम्पर्क विच्छेद भएको अधिकारीहरूले बताएका छन् । 

    १३. गाजा सिटीमा इजरायली हवाई आक्रमण, दुई प्यालेस्टिनीको मृत्यु

    गाजा सिटीको पश्चिमी क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी दुई प्यालेस्टिनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । स्थानीय स्रोत तथा प्रत्यक्षदर्शीकाअनुसार आईतवार ताल अल–हवा क्षेत्रमा गुडिरहेको एउटा सवारीसाधनलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणपछि सवारीसाधनमा विस्फोट हुनुका साथै आगलागी भएको थियो। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीकाअनुसार घटनामा दुई जनाको मृत्यु भएको र १३ जना विभिन्न गम्भीरताका चोटपटकबाट घाइते भएका छन् । इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै मारिएका दुई जना हमासका लडाकु रहेको दाबी गरेको छ । 

    १४. दक्षिणी टर्कीमा ३५० किलो कोकिन बरामद, नौ जनाविरुद्ध मुद्दा

    टर्कीको दक्षिणी प्रान्त मेर्सिनमा गरिएको लागुऔषधविरुद्धको विशेष अभियानमा प्रहरीले करिब ३५० किलो कोकिन बरामद गरेको छ । टर्कीको गृह मन्त्रालयकाअनुसार इस्तानबुल र मेर्सिनका प्रान्तीय प्रहरी विभागले सुरक्षा महानिर्देशनालयअन्तर्गतको लागुऔषध नियन्त्रण विभागको समन्वयमा उक्त अभियान सञ्चालन गरेका हुन् । अभियानका क्रममा बरामद गरिएको कोकिनबारे थप अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा नौ जनाविरुद्ध लागुऔषध तथा उत्तेजक पदार्थ उत्पादन र ओसारपसार सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ । 

    १५. मोचा बन्दरगाह सहर कब्जापछि हुथी समूहद्वारा २१० बन्दी रिहा

    यमनको हुथी समूहले लाल सागर तटीय क्षेत्रमा तिब्र सैन्य अघि बढाइका क्रममा रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेपछि सरकारी सुरक्षाबलको नियन्त्रणमा रहेका आफ्ना २१० सदस्यलाई रिहा गरेको जनाएको छ । हुथीका एक सैन्य अधिकारीका अनुसार दक्षिणपश्चिमी ताइज प्रान्तमा रहेको मोचा शहर बिहीवार कब्जा गरेपछि हुथी लडाकुहरूले सरकारी नियन्त्रणमा रहेको एउटा कारागारमा प्रवेश गरेका थिए । सरकारी सुरक्षाबल पछि हट्ने क्रममा सबै २१० बन्दीलाई एउटा ठूलो हलमा राखेर थुनेर गएको र हुथी लडाकुले कारागारमा प्रवेश गरी उनीहरूलाई मुक्त गरेको ती अधिकारीले बताए । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले शनिबार ती २१० जना बन्दी साना पुगेको पुष्टि गरेको छ । रिहा भएका एक हुथी बन्दी अबु खलिलले आफू एक वर्ष चार महिनादेखि कारागारमा रहेको बताउँदै रिहाइपछि खुसी व्यक्त गरेका छन् । 

    १६. सिरियामा इन्धनको मूल्य बढ्यो, डिजेलमा ४० प्रतिशतसम्म वृद्धि

    सिरियाले विश्व बजारमा इन्धन तथा ढुवानी लागत बढेको र घरेलु प्रशोधन क्षमता घटेको भन्दै पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ । सिरियाको पेट्रोलियम उत्पादन तथा खनिज स्रोत मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार ९५ अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ बाट बढाएर १९५ सिरियाली पाउन्ड पु¥याइएको छ । यो करिव २८.३ प्रतिशत वृद्धि हो । त्यस्तै, ९० अक्टेन पेट्रोलको मूल्य १४७ बाट १८५ पाउण्ड पुगेको छ भने डिजेलको मूल्य १२५ बाट १७५ पाउन्ड पु¥याइएको छ । डिजेलको मूल्यमा करिब ४० प्रतिशत वृद्धि भएको छ । खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । 

    १७. नयाँ कोष थप्ने होइन, एकीकृत गर्ने सरकारको नीति छः मन्त्री चौधरी

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ । सोमबार विधायन व्यवस्थापन समितिमा भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनुभएको हो । बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरेको थिए । तर कृषिमन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्ष्पट पार्नुभएको हो । विभिन्न प्रयोजनका लागि विगतमा स्थापना गरिएका कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको तथा कतिपय अवस्थामा दुरुपयोग समेत भएको उहाँको भनाई छ । 

    १८. प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले भने, ‘वैकल्पिक सडक र पुल निर्माणलाई प्राथमिकता दिईयोस्’

    रसुवा बाढीप्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरुकोले सरकारसंग माग गरेका छन् । सोमवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भएको भेटमा बाढी प्रभावित क्षेत्रका प्रतिनिधिहरुले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक तथा बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका हुन् । नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले बाढीका कारण त्रिशूली नदी आसपासका अधिकांश पुल बग्दा नगरपालिकाका प्रभावित बस्तीको आवागमन कठिन बनेको बताउनु भयो । पुल तथा सडक बगेपछि राहत, उद्धार र पुनःस्थापनाको काम नै कठिन भएको उहाँले बताउनु भयो । 

    १९. ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”

    छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । विश्वका ठूला उदीयमान अर्थतन्त्र, बहुध्रुवीय विश्व व्यवस्थाको पैरवी गरिरहेका शक्ति राष्ट्रहरू, ‘ग्लोबल साउथ’ का प्रभावशाली मुलुकहरू र विश्व जनसंख्याको झन्डै आधा हिस्सा ओगट्ने नेतृत्वकर्ताहरू एउटै मञ्चमा भेला भए । छिमेकमै यति ठूलो कुटनीतिक अनुष्ठान हुँदा त्यसको बाजागाजाको आवाज काठमाडौंसम्म प्रस्टै सुनियो, तर नेपाल भने त्यो औपचारिक ढोकाबाहिरै रह्यो । सम्मेलन सकिएलगत्तै काठमाडौंको राजनीतिक वृत्त, कुटनीतिक चिया–चौतारी र सञ्चारमाध्यमहरूमा पुरानै भावुक प्रश्नको बाढी आयो– ‘छिमेकमा यति ठूलो अन्तर्राष्ट्रिय मञ्च लाग्दा भारतले नेपाललाई किन बोलाएन ?’

    २०. संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न सांसदहरुको माग

    संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्र्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिमा सोमवार भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा सांसदहरुले कोष स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले किसानका लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भयो । उहाँले किसान देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुहुँदै महामारीका कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनैपर्ने धारकारी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । किसानलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुन नसक्ने उहाँको भनाई छ । 

    २१. अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवद्र्धनका नेपालमा लगानी भइरहेको छ, अहिलेका नेताहरुले समेत लाभ लिएका छन्ः पाण्डे

    संयुक्त राष्ट्रसंघ (यूएन)का पूर्वनिर्देशक भाइराजा पाण्डेले अमेरिकी सहयोगमार्फत नेपालमा अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवद्र्धन गर्ने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमेरिकाले विश्वका अन्य मुलुकमा समेत आफ्नो लोकतान्त्रिक प्रणालीलाई उत्कृष्ट ठान्दै त्यसको प्रवद्र्धनका लागि आर्थिक तथा अन्य सहयोग गर्दै आएको दाबी गर्नुभयो । उहाँले नेपालमा समेत अमेरिकी लगानीमार्फत राजनीतिक तथा लोकतान्त्रिक प्रणालीमाथि खेलवाड भइरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेका नेताहरुले समेत अमेकिारबाट त्यस्तो सहयोग लिएको गम्भीर आरोप लगाउनु भयो । पाण्डेका अनुसार ‘कन्सोर्टियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ’ लगायतका कार्यक्रममार्फत निर्वाचन प्रणाली, युवाहरू तथा लोकतान्त्रिक मूल्य–मान्यतासम्बन्धी प्रशिक्षण सञ्चालन हुँदै हुँदलै आएको छ ।

    २२. काठमाडौंको हनुमानढोकामा वरिष्ट फोटो पत्रकार ताकुवाको जापानी संस्कृतिसम्बन्धी एकल फोटो प्रदर्शनी

    जापानी वरिष्ठ फोटो पत्रकार ताकुवाको जापानी संस्कृतिसम्बन्धी एकल फोटो प्रदर्शनी काठमाडौंमा आयोजना गरिएको छ । हरितालिका तीजको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा जापानको रथयात्रासम्बन्धी फोटो पत्रकार ताकुवाले खिचेका जापानी रथयात्रासम्बन्धी फोटो प्रदर्शनी काठमाडौंको हनुमानढोकामा आयोजना गरिएको हो ।  राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र जापानबीच कला तथा सांस्कृति आदानप्रदान गर्ने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उहाँले जापानको संस्कृति तथा परम्परा जानकारी दिने उद्देश्यले फोटो पत्रकार ताकुवालाई निमन्त्रणा गरी फोटो प्रदर्शनी आयोजना गरिएको पनि बताउनु भयो । उहाँका अनुसार प्रदर्शनीमा जापनको सांस्कृतिक परम्परा झल्किने ३० वटा तस्बिरहरु प्रदर्शनमा राखिएका छन् ।

    २३. ब्रिक्स शिखर सम्मेलनमा नेपाल सहभागि नहुनु वा नबोलाइनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यकः राजेन्द्र शर्मा

    अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागि नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई ब्रिक्समा बोलाइएको हो वा होइन तथा बोलाइएको भए नेपाल सहभागी हुन किन गएन भन्ने विषयमा गहिरो अध्ययन हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल अमेरिकाको विकास परियोजना एमसीसीमा जोडिएकाले ब्रिक्समा जान आवश्यक नरहेको तथा असंलग्न परराष्ट्र नीति अंगाल्ने मुलुक भएकाले सहभागी नहुनु उपयुक्त भएको जस्ता टिप्पणीहरु भइरहेको उल्लेख गर्दै उहाँले यसको वास्तविक कारण खोजिनुपर्जे बताउनु भयो ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :भाद्र २९ २०८३ सोमवार - १८:४५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij