२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा अचानक धुवाँ देखियो। चालक चन्द्रदेव मगरले तत्काल यात्रुलाई गाडीबाट बाहिर निस्कन भने। गाडीमा सवार ३ बालबालिकासहित २१ जना यात्रु बाहिर निस्किए। उनीहरू सबै सकुशल रहे, तर गाडी र यात्रुका सामान भने आगलागीबाट जोगाउन सकिएनन्।
बुधबार अपराह्न करिब ४ बजे कालीकोटको खाडाचक्र नगरपालिका–१ मान्मको जिल्ला अस्पतालको उकालोमा घटना भएको हो। सुर्खेतबाट नाग्मका लागि छुटेको भे १ ख ४०९४ नम्बरको गाडीमा इन्जिन तातिएपछि आगलागी भएको बताइएको छ।
गाडीमा धुवाँ देखिएलगत्तै चालकले यात्रुलाई बाहिर निस्कन भनेका थिए। सबै यात्रु बाहिर निस्किएपछि सम्भावित मानवीय क्षति हुन् पाएन् । यद्यपि, आगोले गाडी र यात्रुका सामान पूर्ण रूपमा नष्ट भएका छन्।
आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट १५ जना प्रहरीको टोली चारवटा आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो।
प्रहरीले आगो निभाउने प्रयास गरे पनि गाडी र यात्रुका सामान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए।
घटनाका प्रत्यक्षदर्शी विपिन शाहीले गुडिरहेको गाडीमा आगलागी भएको पहिलो पटक देखेको बताएका छन्।
गाडीमा सवार एक यात्रुका अनुसार चालकले आगो लागेको जानकारी गराएपछि सबै यात्रु बाहिर निस्किएका थिए। गाडी तीव्र गतिमा चलाइएकाले इन्जिन तातिएको हुन सक्ने उनको अनुमान छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij