Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना

हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना


  • 323
    Shares

    हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना
    images

    काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार नै देशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो। 

    मौसमविद सञ्जीव अधिकारीले हाल नेपालमा मनसुनी गतिविधि नरहे पनि पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव भने पर्ने बताएका छन्।  पछिल्लो २४ घण्टामा देशका कतै पनि पानी परेको छैन र अधिकांश भूभागमा मौसम सफा छ। यद्यपि सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पश्चिम तर्फबाट केही बादल आएको विभागले जनाएको छ। 

    पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार र शुक्रबार वर्षा तथा हिमपातको गतिविधि सामान्य रूपमा बढ्न सक्ने सम्भावना छ। बिहीबार दिउँसो पश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम स्तरको हिउँ वा पानी पर्ने अनुमान गरिएको छ। 

    यसैगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै पश्चिमका पहाडी भूभागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने मौसमविद अधिकारीले जानकारी दिए। तराईका भूभागमा भने पानी पर्ने सम्भावना छैन तर पश्चिमी तराईमा सामान्य बादल लाग्नेछ।

    बिहीबार राति तराईमा वर्षा नहुने र सबैजसो हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिउँ वा पानी पर्ने पूर्वानुमान छ। न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार बिहान मध्यदेखि पश्चिम तराईका केही स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ। शुक्रबार उक्त प्रणाली पूर्वतर्फ सर्ने भएकाले देशका सबैजसो हिमाली भूभागका थोरै स्थानमा सामान्य पानी वा हिउँ पर्न सक्नेछ। शुक्रबार राति र शनिबार बिहान पख तराईका अन्य भूभागमा पनि हुस्सु लाग्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

    मौसम विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै चेतावनीसमेत जारी गरेको छ। बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पहेँलो रङको चेतावनी जारी गरिएको छ भने शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली भूभागमा यस्तो चेतावनी दिइएको छ। 

    मौसमविद अधिकारीले मौसमको अवस्था परिवर्तन भइरहने हुँदा सतर्क रहन आग्रह गरेका छन्। उनले भनेका छन्, आगामी केही दिनमा पश्चिमी वायुको प्रभाव घट्दै जाने र मौसममा क्रमशः सुधार आउने देखिए पनि आंशिक प्रभाव रहिरहन सक्ने भएकाले विभागका अद्यावधिक सूचनामा ध्यान दिनुहोला। 

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - ११:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij