२०८३ आश्विन ३० गते शुक्रवार
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारका सदस्यले सम्पर्क हुन नसकेको भन्दै प्रहरीलाई जानकारी गराएका छन्।
प्रहरीले बुधबार साँझ बाढी प्रभावित क्षेत्रमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि जानकारी गराउन सूचना जारी गरेको थियो। प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, कर्मचारी तथा जलविद्युत् आयोजनामा कार्यरत मजदूरका आफन्तले खोजीका लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी टेकबहादुर रावत जानकारी दिए।
डीएसपी राउतका अनुसार सम्पर्कविहीन भएका नागरिकको विवरण संकलन गरी प्रहरी प्रधान कार्यालय पठाउने काम भइरहेको छ।
सम्पर्कविहीन हुनेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ, शुक्लाफाँटा नगरपालिकाका सात, बेलौरी नगरपालिकाका पाँच, कृष्णपुर नगरपालिकाका तीन, बेदकोट नगरपालिकाका दुई र लालझाडी गाउँपालिकाका एक जना रहेका छन्।
त्यस्तै, डडेल्धुराका एक र बैतडीका दुई जना पनि सम्पर्कविहीन रहेको जानकारी आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij