Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड


  • 764
    Shares

    विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ :  प्रचण्ड
    images

    काठमाडौं  । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर प्राकृतिक विपत्तिमा परेको बेला राजनीतिक मतभेद र आग्रह–पूर्वाग्रह त्यागेर सबै शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा कसैलाई पनि एक्लो महसुस हुन नदिने गरी सबै दलहरू खोजी, उद्धार र राहत कार्यमा जुट्नुपर्ने बताए।

    बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘अहिले देश गम्भीर प्राकृतिक विपत्तिसँग जुधिरहेको छ। यस्तो अवस्थामा लामो राजनीतिक बहस र पूर्वाग्रहमा अल्झिने समय होइन। सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर जनताको जीवन रक्षामा लाग्नुपर्छ।’

    पछिल्ला विपत्तिहरू सामान्य मौसमी घटना मात्र नभएर जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो वातावरणीय जोखिमको उपज भएको प्रचण्डले औँल्याए । उनले तत्कालीन उद्धारसँगै दीर्घकालीन रणनीति, वैज्ञानिक अध्ययन र नीतिगत व्यवस्था आवश्यक रहेको बताए ।

    उनले छिमेकी मुलुकहरूसँग पूर्वसूचना संयन्त्र प्रभावकारी बनाउन तत्काल समन्वय गर्नुपर्नेमा जोड दिँदै जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता हिमाली देशका लागि अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउनुपर्ने धारणा राखे।

    विगतका कोशी बाढी, जुरे पहिरो, २०७२ को महाभूकम्प तथा जाजरकोट भूकम्पमा दलहरूले देखाएको राष्ट्रिय एकताको स्मरण गर्दै उनले रसुवाको भोटेकोसी बाढीलगायत देशभरका विपत्ति व्यवस्थापनमा आफ्नो पार्टी सरकारको साथमा रहने स्पष्ट पारे।

    पार्टीका नेता–कार्यकर्ताहरूलाई सरकारी निकायसँग समन्वय गरी उद्धार र राहतमा खटिन निर्देशन दिइसकिएको जानकारी दिँदै उनले भने– ‘विपत्तिमा कोही नागरिक एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कोही बाहिर नपरोस् भन्ने साझा सङ्कल्पका साथ हामी अघि बढ्नुपर्छ।’ 

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - ११:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij