२०८३ आश्विन ३० गते शुक्रवार
काठमाडौं । एक सातापछि विद्युत् उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा रहेको रसुवाको निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोसीमा आएको भीषण बाढीले तहसनहस भएको छ।
आयोजनाको पावर हाउस बाढीले पूर्णरूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन छन्।
बुधबार बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको बाढीका कारण आयोजना क्षेत्रमा ठूलो क्षति पुगेको हो। निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा कर्मचारी र मजदुर सुरुङभित्र कंक्रिट ढलानको काममा व्यस्त थिए।
आयोजनामा मल्टी इनर्जीका इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित २५ जना तथा पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ जना मजदुर कार्यरत थिए। उनीहरू बिहानदेखि सम्पर्कमा नरहेको भट्टराईले बताए।
‘अर्को साता बत्ती बाल्ने तयारी थियो। तीन दिनअघि मात्रै फिल्डमा गएर आएको थिएँ,’ भट्टराईले भने, ‘आयोजना त फेरि बनाउँला, तर हाम्रा काबिल इन्जिनियर र मजदुरहरूको अवस्था अज्ञात हुँदा मन बेचैन भएको छ।’
बाढीले आयोजनाको पावर हाउसको संरचना नै नरहने गरी क्षति पुर्याएको उनले बताए। उनका अनुसार बाढी प्राकृतिक जलसतहभन्दा करिब १ सय २५ मिटर माथिसम्म पुगेको थियो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढी नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन्।
उनले अहिले आयोजनाको क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजीलाई प्राथमिकता दिनुपर्ने बताए। ‘प्रोजेक्ट त फेरि बनाऔँला, तर मान्छे कहाँबाट ल्याउने?’ भन्दै उनले मानवीय क्षति नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij