२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुख अग्नि सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् ।
बैठकका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत छन् । प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् । सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतालाई बैठकमा बोलाएका थिए ।
सभामुखले प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा सहभागि जनाउन आग्रह गरेका थिए । ‘सभामुखज्यूले प्रधानमन्त्रीलाई पत्र पठाएर बैठकमा सहभागि हुन आग्रह गर्नुभएको रहेछ, तर सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी विषय विचाराधीन रहेको समयमा त्यो बैठकमा प्रधानमन्त्रीज्यू सहभागि हुनुहुन्न’ एमालेका एक शीर्ष नेताले भने ।
प्रधानमन्त्रीसँग परामर्श नगरी त्यस्तो बैठक राखिएकोमा बालुवाटारको असन्तुष्टि देखिएको छ । ‘विगतमा पनि यस्ता सर्वदलीय बैठक राख्दा प्रधानमन्त्रीसँग परामर्श गरेर मात्र राखिन्थ्यो, एउटा पत्रको भरमा बैठकमा सहभागि हुने कुरा आउँदैन’ ती नेताले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij