२०८३ श्रावण २९ गते शुक्रवार
काठमाडौं । अमेरिकाको म्यासाचुसेट्स राज्यमा भारतीय मूलका १७ वर्षीय किशोरमाथि आफ्नै आमा र भाइको हत्या गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा ती किशोरले घटनाअघि च्याटजीपीटी र इन्टरनेटमार्फत परिवारको हत्या सम्बन्धी कल्पना तथा सामग्री खोजेको दाबी प्रहरीले गरेको छ।
आरोपित किशोरको नाम अर्जुन अरविन्द रहेको छ। उनी एक्टन–बक्सबरो क्षेत्रीय उच्च विद्यालयका विद्यार्थी हुन्। प्रहरीले उनका ४५ वर्षीया आमा सुधा भेन्कटेशन र १४ वर्षीय भाइ सिद्धार्थ अरविन्दलाई एक्टनस्थित मार्था लेनको घरबाट मृत अवस्थामा फेला पारेको थियो। प्रहरीका अनुसार घटनाबारे मंगलबार साँझ जानकारी भएको थियो। घरमा पढाउन आउने टिचरले ढोका नखुलेपछि अर्जुनका बुबालाई खबर गरेकी थिइन्।
परिवारसँग सम्पर्क हुन नसकेपछि बुबाले प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थल पुगेका प्रहरीले घरभित्र दुई जनालाई मृत अवस्थामा फेला पारेका थिए। अनुसन्धानका क्रममा भाइको शव घरको पहिलो तलामा र आमाको शव बेसमेन्टमा भेटिएको बताइएको छ। दुवैको शरीरमा चोटपटक देखिएको भए पनि मृत्युको ठ्याक्कै कारण र प्रयोग भएको हतियारबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
घटनापछि अर्जुन आमाको कार लिएर फरार भएका थिए। प्रहरीले रातभर खोजी गरेपछि बुधबार बिहान उनलाई नजिकैको वेयल्यान्ड क्षेत्रमा कारभित्रै फेला पारी पक्राउ गरेको जनाएको छ। अर्जुनमाथि दुईवटा कर्तव्य ज्यान, परिवारका सदस्यविरुद्ध आक्रमण, कुटपिट, अनुमति बिना सवारी प्रयोग र सवारी चोरीसम्बन्धी अभियोग लगाइएको छ।
मिडलसेक्स काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार अर्जुनले पछिल्लो समय इन्टरनेट र च्याटजीपीटी प्रयोग गरी परिवारको हत्या सम्बन्धी काल्पनिक कथा, पात्र र विचारहरू खोज्ने गरेको अनुसन्धानबाट खुलेको छ। अधिकारीहरूले ती सामग्रीहरू वास्तविक घटनासँग सम्बन्धित हुन सक्ने भन्दै अनुसन्धान गरिरहेका छन्। घटनाले अमेरिकाको स्थानीय समुदायमा ठूलो स्तब्धता पैदा गरेको छ। प्रहरीले घटनाको कारण, पारिवारिक अवस्था र किशोरको व्यवहारबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij