२०८२ भाद्र २ गते सोमवार
काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकारमा जान १० मन्त्रालयको माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन् ।
‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौं । त्यसमा प्रधानमन्त्रीले सहमति जनाइसक्नु भएको छैन । छलफल जारी भएकाले मन्त्रालय र मन्त्रीको दुबै पक्षबाट टुंगो लगाए तत्काल शपथ हुन्छ’ महन्थ–राजेन्द्रपक्षका एक सांसदले भने,‘मन्त्री र मन्त्रालको टुंगो लगाए बिहीबार वा शुक्रबारसम्म शपथ हुन सक्छ ।’ तर,राजनीतिक घटनाक्रम छिटोछिटो विकसित भएकाले सोमबार बेलुकासमेत शपथ हुन सक्ने अर्का एक सांसदले बताए ।
अध्यक्ष महन्थ ठाकुरले सरकारमा जान इच्छा नदेखाएकाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा जाने तयारी गरिएको उनले बताए । महतोसहित मन्त्रीको आकांक्षीमा लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अग्ररिया, इबाल मिँया, विमल श्रीवास्तव रहेका छन् ।
‘प्रधानमन्त्री ज्यूले उदारपूर्वक जसपाका माग मुद्दा सम्बोधन गर्नुभएको छ । संविधान संशोधन संशोधनका लागि कार्यदल बनाउनु भएको छ । नगरिकता विधेक पास भएको छ । मधेस आन्दोलनका मुद्दा फिर्ता भएका छन् । कतिपय फिर्ताको प्रक्रियामा छन् । रेशम चौधरी हप्तादिनभित्रै छुट्ने तयारीमा हुनुहुन्छ’ महन्थ–राजेन्द्रपक्षका ति सासंसदले भने,‘जसपाका अधिकाश माग र मुद्दा सम्बोधन भइसकेकाले सरकारमा जान जसपालाई कुनै समस्या छैन ।’
तर अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भए निष्काशन गर्ने निर्णय गरेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij