२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । भारतको गाजियाबादका हरिश राणाको कथा यस्तै एक हृदयविदारक यथार्थ बनेर टुंगिएको छ। १३ वर्षदेखि कोमामा रहेका हरिशको आज नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । तर, यो मृत्यु सामान्य होइन, यो पीडाबाट छुटकारा पाउन गरिएको अन्तिम निर्णय थियो।
विगत एक सातादेखि एम्सको प्यालिएटिभ केयर कक्षमा शय्याग्रस्त हरिशको शरीरमा जीवनका साना संकेतहरू मात्र बाँकी थिए। चिकित्सकहरूको निगरानीमा उनलाई खाना र पानीबाट बञ्चित राख्ने प्रक्रिया । इच्छामृत्यु—सुरु गरिएको थियो। प्रत्येक दिनसँगै उनका श्वासहरू कमजोर हुँदै गएका थिए, तर उनका आमाबुवाको आशा भने अन्तिम क्षणसम्म मरेन।
उनकी आमा अस्पतालको कोठामा बसिरहन्थिन हातमा माला, ओठमा हनुमान चालीसा। छोराको सास चलिरहेको देख्दा उनी अझै चमत्कारको प्रतीक्षा गर्थिन्। निधनभन्दा केही क्षणअघि उनले भक्कानिँदै भनेकी थिइन्, “मेरो छोरा अझै सास लिइरहेको छ, उसको मुटु अझै धड्किरहेको छ‘” तर प्रकृतिले उनको प्रार्थना सुनेन। अन्ततः आमाकै आँखाअगाडि छोराको जीवनदीप निभ्यो।
हरिशको जीवन कहिले यस्तो हुने थियो भन्ने कसैले सोचेको थिएन। सन् २०१० मा चण्डीगढ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ पढ्न सुरु गरेका उनी एक आशावादी विद्यार्थी थिए। परिवारका सपना, आफ्ना आकांक्षा, सबै उज्याला भविष्यतर्फ उन्मुख थिए। तर सन् २०१३ को रक्षाबन्धनको दिनले सबै कुरा उल्टाइदियो।
त्यो दिन उनी बहिनीसँग मोबाइलमा कुरा गर्दै थिए। हाँसो, स्नेह र पारिवारिक मायाले भरिएको त्यो संवाद अचानक दुर्घटनामा परिणत भयो। चौथो तलाबाट खसेपछि उनको जीवन सधैंका लागि बदलियो। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएका हरिश पछि क्वाड्रिप्लेजियाको शिकार भए—हातखुट्टा पूर्ण रूपमा निष्क्रिय, शरीर चलाउन नसक्ने, तर सास चलिरहेकोथियो ।
त्यसपछि सुरु भयो १३ वर्ष लामो मौन पीडा, अस्पतालका बेडहरू नै उनको संसार बने। न बोल्न सक्ने, न हिँड्न सक्ने, केवल श्वास र धड्कनले मात्र जीवन बाँधिएको अवस्था, उनका आमाबुवा दिनरात छोराको हेरचाहमा समर्पित रहे। आशा र निराशाको बीचमा झुलिरहे, कहिले चमत्कारको प्रतीक्षा, कहिले पीडाबाट मुक्ति दिने निर्णयको द्विविधामा ।
अन्ततः जब पीडा असह्य बन्दै गयो, परिवारले इच्छामृत्युको बाटो रोज्यो। दिल्ली उच्च अदालतले पहिलो पटक यो माग अस्वीकार गर्यो। तर उनीहरू रोकिएनन्। न्यायको अन्तिम ढोका, सर्वोच्च अदालत—ढकढक्याए। करिब आठ महिनाको संघर्षपछि, मार्च ११, २०२६ मा सर्वोच्च अदालतले हरिशलाई इच्छामृत्युको अनुमति दियो।
उनको कथा सुन्ने जो कोहीको मन भारी हुन्छ। एउटा उज्यालो भविष्य बोकेको युवक-जो इन्जिनियर बन्ने सपना देख्थ्यो-अन्ततः अस्पतालको बेडमै आफ्नो जीवन बिताउन बाध्य भयो। आमाको माया, बुबाको संघर्ष, परिवारको आशा अन्ततः मौन शोकमा परिणत भयो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij