२०८२ चैत्र १० गते मंगलवार
१. मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाहरुले बताएका छन् । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरुको भनाइ छ । पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताउनु भयो । उहाँले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताउनु भयो । उहाँले युद्ध लम्बिँदा व्यवसायी समेत समस्या पर्दै गएको गुनासो गर्नुभयो ।
२. नेपाली तयारी पोशाकलाई विश्व बजारमा पु¥याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ र अन्तर्राष्ट्रिय संस्था ‘ऊलमार्क’ बीच सहकार्य शुरु भएको छ । राजधानीमा आयोजित ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अष्ट्रेलियाको ऊलमार्कसँगको सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पाण्डेकाअनुसार यो परियोजनाका लागि विगत ६ महिनादेखि भारत र नेपालमा विभिन्न चरणमा छलफल र अध्ययन भएको थियो । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा ऊलमार्कसँगको सहकार्य झनै महत्वपूर्ण हुने पाण्डेको भनाइ छ ।
३. नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने
नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनको लागि प्रश्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रिय कार्यसमितिले तयार पारेको प्रश्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रश्तावित कार्यतालिकाअनुसार ६ हजार ७ सय ४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले बताउनु भयो । त्यसैगरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने काँग्रेसले जनाएको छ । साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ । यो कार्यतालिका पार्टीको आगामी केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उहाँले बताउनु भयो ।
४. नेपाली काँग्रेसको ‘ग्राण्ड रिफर्म’
नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सार्नुभएको छ । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिनुभएको राजीनामा केन्द्रिय समितिले अस्वीकृत गरेपछि सभापति थापाले अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने उद्घोष गर्नुभएको हो । उहाँले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जवाफदेहिताबाट नभाग्ने स्पष्ट पार्नुभयो ।
- राजीनामा, जवाफदेहिता र केन्द्रिय समितिको निर्णय
सभापति थापाले निर्वाचन परिणाम लगत्तै उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाउनुभएको राजीनामाका सम्बन्धमा बोल्दै यो कुनै हतास मानसिकता नभई राजनीतिक जवाफदेहिताको कसी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म यो टिमको क्याप्टेन हुँ र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौँ, त्यसैले हारको जिम्मेवारी मैले लिनुपर्छ भन्ने मेरो दृढ निष्कर्ष थियो ।’
यद्यपि, केन्द्रिय समितिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै बाँकी जिम्मेवारी पूरा गर्नुपर्ने निर्णय गरेपछि उहाँले समितिको निर्णयलाई सम्मान गर्दै नयाँ अध्यायको प्रारम्भ भएको घोषणा गर्नुभयो । थापाले अब राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डो¥याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनु भयो ।
- सङ्घीय प्रतिपक्षको भुमिका र राष्ट्रिय राजनीति
निर्वाचनपछि नेपाली काँग्रेसले प्राप्त गरेको सङ्घीय प्रतिपक्षको भुमिकालाई सभापति थापाले विशिष्ट जिम्मेवारीका रूपमा व्याख्या गर्नुभयो । उहाँले नयाँ सरकार गठन गर्ने म्याण्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै काँग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नुभयो ।
‘सरकारको गति बढाउन हाम्रो दबाब र प्रोत्साहन रहन्छ, तर देशलाई कुनैपनि हालतमा दुर्घटनामा पर्न दिँदैनौँ ।’ उहाँले भन्नुभयो ।
थापाले लोकतन्त्रका आधारभुत मूल्य, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने र काँग्रेसले ‘भिजिलेन्ट’ (शतर्क) भएर पहरेदारी गर्ने स्पष्ट पार्नुभयो ।
५. चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदै
मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ । गत आईतवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्न लागिएको हो । बुधवार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पर्वको समापन हुनेछ । कार्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।
६. कीर्तिमान योगफल बनेको दिन पुलिस र वागमतीको जित
चार ब्याटरले अर्धशतक बनाएपछि नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सानदार जित निकाल्दा वागमती प्रदेशले पनि पहिलो सफलता आत्मसात गरेको छ ।
मूलपानीमा मंगलवार भएको खेलमा पुलिसले विभागीय डर्बीमा एपिएफ क्लवमाथि एक सय ८५ रन र वागमतीले गण्डकी प्रदेशलाई एक सय ७० रनले हराएका हुन् । समान दुई खेलबाट वागमती र पुलिसले पहिलो जित आत्मसात गरे । ओपनर दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिलसाद अली गरी चार ब्याटरले अर्धशतक पूरा गरेपछि पुलिस प्रधानमन्त्री कपमा अहिलेसम्मको सर्वाधिक (३५५ रन) ठूलो योगफल बनाउन सफल भयो, त्यो पनि बलियो एपिएफविरुद्ध । यसअघि एपिएफले सन् २०१८ को प्रधानमन्त्री कपमा मधेस प्रदेशविरुद्ध तीन सय ३९ रनको योगफल बनाएको थियो । मूलपानी क्रिकेट मैदानमा पुलिसले कीर्तिमान तीन सय ५६ रनको लक्ष्य दियो । दबाबमा परेको एपिएफ ४४ औं ओभरमा एक सय ७० रनमा नै अलआउट हुन पुग्यो ।
७. कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रि–चन्द्र बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार क्याम्पस प्राङ्गणमा विरोध तथा खबरदारी कार्यक्रम गरिएको हो । ‘जेन–जी’ आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार भन्ने मुख्य नाराका साथ विद्यार्थीले प्रदर्शन गरेका छन् । आन्दोलनका क्रममा भएका घटनाहरू र त्यसको छानबिनका लागि गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै विद्यार्थी आक्रोशित छन् । विद्यार्थीले यसलाई सूचनाको हक र लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध भएको बताएका छन् । प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनका कार्यक्रमहरू निरन्तर जारी रहने पनि बताइएको छ ।
८. इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा
सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको राष्ट्रिय झण्डो झण्डोत्तोलन गरिएको थियो । ग्रीन सिटी परियोजना अन्तर्गत इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखेको डीएन ग्रुपले अग्लो राष्ट्रिय झण्डा सहित निर्माणाधिन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरुले इनरुवाको पर्यटन र बिकासमा टेवा पुग्ने विश्वास लिएको छ ।
९.१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । अर्थ मन्त्रालयको स्रोत सहमतीसँगै सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जे.भीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । १ अर्ब ३४ करोडमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीले बताउनु भयो । सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेनको बनाइने भण्डारीले बताउनु भयो । डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखि क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको सिडिई भण्डारी बताउनु हुन्छ । भने हालसम्मको भौतिक प्रगति ७ प्रतिशत रहेको छ ।
१०. ‘राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ
गैरआवासीय नेपाली संघ (एनआरएनए) लामो समयदेखिको आन्तरिक विवाद, विभाजनपछि पुनः एकतामा फर्किएको छ । हालै सम्पन्न संघको १२ औँ महाधिवेशनलाई ‘वृहत एकताको महाधिवेशन’ का रूपमा चित्रित गरिएको छ, यसले विगतका मतभेदलाई अन्त्य गर्दै साझा लक्ष्य र उद्देश्यतर्फ अघि बढ्ने सन्देश दिएको छ । उक्त महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । विश्वभर फैलिएको नेपाली डायस्पोराको प्रतिनिधित्व गर्ने यस संस्थाले नेपालको आर्थिक, सामाजिक तथा नीतिगत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । संघले नेपाल सरकारसंग नागरिकता, लगानी र संस्थागत सुधारका मुद्दाहरु समाधान गर्न माग गर्दै आएको छ । बदलिँदो राजनीतिक परिवेश, नयाँ पुस्ताको उदय तथा डायस्पोराको बढ्दो भुमिकाका बीच एनआरएनएले आगामी दिनमा कस्तो कार्यदिशा लिन्छ भन्ने विषय अहिले चासोको केन्द्रमा छ । यिनै सन्दर्भहरूमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटासँग समसामयिक विषयमा विस्तृत कुराकानी गरेको छ ।
११. अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो
अमेरिकी सिनेटले सिनेटर मार्कवेन मुलिनलाई आन्तरिक सुरक्षा विभाग (डीएचएस) को सचिव पदमा नियुक्त गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान सचिव क्रिस्टी नोएमलाई प्रतिस्थापन गर्ने घोषणा गरेको दुई हप्तापछि यो कदम चालिएको हो । माथिल्लो सदनमा भएको प्रक्रियागत मतदानमा मुलिनको मनोनयनको पक्षमा ५४ र विपक्षमा ३७ मत परेको थियो । उहाँको नियुक्तिलाई अन्तिम रूप दिन आगामी केही दिनभित्रै अन्तिम मतदान हुने सम्भावना छ । ४८ वर्षीय मुलिनले ओक्लाहोमा राज्यबाट १० वर्षसम्म तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा प्रतिनिधित्व गरेपछि सन् २०२३ देखि सिनेटमा सेवा गरिरहनुभएको छ । नोएमको नेतृत्वप्रति दुवै दलका सांसदहरूको बढ्दो असन्तुष्टिका बीच मुलिनको मनोनयन आएको हो । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो मन्त्रिमण्डल पुनर्गठन समेत हो ।
१२. इटालीमा ३१ औं रोम म्याराथन सम्पन्नः केन्याली धावकहरूको वर्चश्व
३१ औं रोम म्याराथनमा केन्याली धावकहरूले पुरुष र महिला दुवै विधामा उपाधि जितेका छन् । केन्याका एस्बेल रुट्टो र पास्कलिन किबिवोटले यस ऐतिहासिक दौडमा आफ्नो नाम लेखाएका हुन् । यस वर्षको म्याराथन कोलोसियम नजिकैको ऐतिहासिक ‘भिया देई फोरी इम्पेरियाली’ बाट शुरु भएको थियो । धावकहरूले रोमका प्रमुख स्मारकहरू, पियाजा भेनेजिया र भिटोरियानो स्मारक हुँदै आफ्नो यात्रा तय गरेका थिए । दौडको समापन प्राचीन खेल मैदान ‘सर्कस म्याक्सिमस’ मा भएको थियो । सन् १९८२ मा स्थापना भएदेखि रोम म्याराथन युरोपको प्रमुख लामो दूरीको दौड प्रतियोगिताको रूपमा विकसित भएको छ । यसले विश्वभरका उत्कृष्ट धावकहरूलाई आकर्षित गर्दै आएको छ ।
१३. इरानको ऊर्जा पूर्वाधारमाथिको आक्रमण ५ दिनका लागि रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत गृह र ऊर्जा संयन्त्रहरूमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि पाँच दिनसम्म स्थगित गर्न अमेरिकी सेनालाई निर्देशन दिनुभएको छ । सोमवार यस निर्णयको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो वार्ता अत्यन्तै राम्रो र फलदायी भएको बताउनु भयो । सोही वार्ताको सकारात्मक परिणामस्वरुप थप कुटनीतिक अवसर प्रदान गर्न उहाँले सैन्य कारबाहीलाई केही दिन पछि सार्ने निर्णय लिएको जानकारी दिनुभएको हो । यसअघि दुई देशबीच तनाव बढ्दै जाँदा अमेरिकाले इरानी ऊर्जा क्षेत्रका रणनीतिक पूर्वाधारहरूलाई लक्षित गरी सैन्य प्रहार गर्ने तयारी गरेको थियो । तर पछिल्लो संवादमा भएको प्रगतिले युद्धको सम्भावनालाई तत्कालका लागि टारेको विश्लेषण गरिएको छ । ट्रम्पको यो कदमलाई मध्यपूर्वमा तनाव कम गर्ने एउटा महत्वपूर्ण पहलको रूपमा हेरिएको छ ।
१४. ट्रम्पद्वारा इरानसँग हर्मुज जलसन्धिको संयुक्त नियन्त्रणको प्रश्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार वासिङ्टन र इरानबीच सप्ताहन्तमा भएको वार्तामा सहमतिमा मुख्य बुँदाहरू फेला परेको बताउनुभएको छ । आईतवार अबेर रातिसम्म चलेको उक्त वार्तापछि उहाँले हर्मुज जलसन्धिलाई संयुक्त रूपमा नियन्त्रण गर्न सकिने सुझाव दिनुभएको हो । उहाँले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर पनि उक्त वार्तामा सहभागी भएको जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले इरानले नै वार्ताको पहल गरेको दाबी गर्दै यदि वार्ता सहज रूपमा अघि बढेमा इरानसँगको अमेरिका–इजरायल युद्ध अन्त्य हुने र हर्मुज जलसन्धि चाँडै खुल्ने बताउनु भयो । के इरानले अझै पनि उक्त महत्वपूर्ण जलमार्ग नियन्त्रण गर्नसक्छ भन्ने प्रश्नमा ट्रम्पले यो संयुक्त रूपमा नियन्त्रण हुने जवाफ दिनुभयो । यद्यपि ट्रम्पले अमेरिकासँगको छलफलमा संलग्न इरानी वार्ताकारको पहिचान खुलाउन अस्वीकार गर्नुभयो ।
१५. पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी
फ्रान्सको राजधानी पेरिसमा सम्पन्न नगरपालिका निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार इमानुएल ग्रेगोइरेको नेतृत्वमा रहेको उम्मेदवारको सूची विजयी भएको छ । मतदान सर्वेक्षण संस्था ‘एलाबे’ को प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै बीएफएम टिभीले ग्रेगोइरेको जितबारे जानकारी दिएको हो । सोसलिस्ट पार्टी, द इकोलोजिस्ट्स र फ्रान्सेली कम्युनिष्ट पार्टीको गठबन्धनद्वारा समर्थित ग्रेगोइरेको टोलीले करिव ५० प्रतिशत मत प्राप्त गरेको छ । अर्कोतर्फ, पूर्व संस्कृति मन्त्री रशिदा दातीको नेतृत्वमा रहेको ‘द रिपब्लिकन’ पार्टीको सूचीले करिव ४० प्रतिशत मत प्राप्त गरेको छ । फ्रान्समा हरेक ६ वर्षमा स्थानीय काउन्सिलर, मेयर र अन्य अधिकारीहरू चयन गर्न नगरपालिका निर्वाचन आयोजना गरिन्छ ।
१६. मध्य मस्कोमा आगलागी हुँदा ३ जनाको मृत्यु, ४ जना घाइते
सोमबार बिहान मध्य मस्कोको एउटा आवासीय भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएको रुसी आपतकालीन मन्त्रालयले जनाएको छ । आवासीय भवनको एउटा अपार्टमेन्टमा सल्किएको आगो १०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । आगोलाई नियन्त्रणमा लिइएको छ र २० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मन्त्रालयकाअनुसार आगो निभाउन ८६ जना कर्मचारी र उद्धारकर्मीहरू खटिएका थिए । आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन र अनुसन्धान जारी छ ।
१७. युएईमा भारी वर्षा र मेघ गर्जनसहितको चट्याङ
युक्त अरब इमिरेट्स (युएई) मा सोमवार भारी वर्षा र मेघगर्जनसहितको चट्याङ परेको छ । जसका कारण धेरै क्षेत्रका सडकहरूमा पानी जमेको र देशका केही भागहरूमा यातायात अवरुद्ध भएको रिपोर्ट गरिएको छ । मेघगर्जन विकसित हुँदा देशका विभिन्न भागहरूमा ठूला आवाजहरू सुनिएका थिए । राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले वर्तमान मौसमी अवस्थामा यस्ता आवाजहरू सामान्य र अपेक्षित भएको बताएको छ ।
१८. लाओसमा नयाँ संसदको पहिलो अधिवेशन शुरु
लाओसको राष्ट्रिय सभाको १० औं व्यवस्थापिकाको उद्घाटन अधिवेशन सोमवारदेखि शुरु भएको छ । यसले देशका शिर्ष नेताहरू र प्रतिनिधिहरूलाई प्रमुख राष्ट्रिय प्राथमिकताहरूका लागि एजेण्डा तय गर्न भेला गराएको छ । उद्घाटन समारोहमा बोल्दै लाओसको राष्ट्रिय सभाका अध्यक्ष जायसोमफोन फोमविहानेले प्रमुख राज्य नेताहरूको चयन र प्रमुख राष्ट्रिय प्राथमिकताहरूलाई सम्बोधन गर्ने कुरामा जोड दिनुभयो । उहाँले १० औं व्यवस्थापिकाको प्राथमिकताहरू रूपरेखा गर्दै पाँच वर्षको प्रगति र २०२६–२०३० को लागि महत्वाकांक्षी एजेण्डा प्रश्तुत गर्नुभयो । अधिवेशनको क्रममा थोङलौन सिसौलिथ लाओसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ भने सोनेसय सिफान्डोन प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । यसका साथै उपराष्ट्रपति, उपप्रधानमन्त्री र राष्ट्रिय सभाका उपाध्यक्षहरूको पनि चयन गरिएको छ ।
१९. संयुक्त राष्ट्रसंघले जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनायो
संयुक्त राष्ट्रसंघले जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाएको छ । यस अवसरमा राष्ट्रसंघले प्रत्येक व्यक्तिको मर्यादा, न्याय, समानता र अधिकारको रक्षा गर्न सरकार, संस्थाहरू, व्यवसायहरू र समुदायहरूलाई एकजुट भएर काम गर्न आह्वान गरेको छ । अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको कार्यक्रममा बोल्दै महासचिव एन्टोनियो गुटेरेसले जातीय भेदभाव मानव अधिकार र मानवीय मर्यादाको उल्लङ्घन भएको बताउनु भयो । सन् १९६० मा दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेको भीडमाथि प्रहरीले गोली चलाउँदा ६९ जनाको ज्यान गएको सार्पभिल नरसंहारको स्मरण गर्दै गुटेरेसले विश्वभर जातिवाद र जातीय भेदभाव विरुद्ध उभिने सबैको सम्मान गर्नुभयो ।
२०. नयाँ सरकारले सीमा विवादलाई समाधान गर्न प्राथमिकतामा दिनुपर्छः सीमाविद् श्रेष्ठ
वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब बन्ने सरकारले सीमा विवादलाई समाधान गर्न प्राथमिकतामा दिनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले विगतका सरकारहरूले नेपालको सीमा समस्या समाधानमा प्रगति गर्न नसकेको बताउनुभएको हो । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले सीमासम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ । उहाँले लिपुलेक, कालापानी लिम्पियाधुरा रहेको चुच्चे नक्शा सार्वजनिक गरिएपनि जमिन फिर्ता ल्याउन नसकेको बताउनु भयो । उहाँले नयाँ सरकारले भारतसँग सशक्त रूपमा सीमा मुद्दा उठाएर औपचारिक वार्तामा लैजानुपर्ने आवश्यकता औँल्याउनु भयो । रास्वपाको चुनावी वाचापत्रमा पनि सीमा समस्या समाधान गर्ने प्रतिवद्धता उल्लेख भएकाले सोहीअनुसार अघि बढ्नुपर्ने उहाँको भनाई छ । उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका अतिक्रमित भूमी कुटनितिक माध्यामबाट नै फिर्ता ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । ती क्षेत्रहरु नेपालको भूमि भएको पर्याप्त प्रमाण रहेको उहाँको भनाई छ । श्रेष्ठले सीमा विवाद समाधानका लागि भारतसँग मात्र नभई चीनसँग पनि वार्ता गर्न आवश्यक रहेको बताउनु भयो । लिपुलेक, कालापानी र लिम्पियाधुरा त्रिदेशीय क्षेत्र भएकोले चीनसँग पनि वार्ता गर्नुपर्ने उहाँको भनाई छ ।
२१. प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण र बैठक सञ्चालनको लागि संघीय संसद सचिवालयले निर्माणाधिन संसद परिसरमा रहेको बहुउद्देश्यीय हल तयार गरेको छ । संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहणको लागि हल व्यवस्थापनको भौतिक कार्य सम्पन्न गरेको हो । प्रतिनिधि सभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिक पक्ष अझै बाँकी रहेको छ । सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूरा हुने उहाँको भनाइ छ । दुई वटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ ।
२२. चुनावी समीक्षा र १५ औँ अधिवेशनमा केन्द्रित हुँदै काँग्रेस
नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक शुरु भएको छ । केहीबेर अघि पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । बैठक मुख्यगरी चुनावी समिक्षा र पार्टीको १५औँ अधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रिय सदस्य प्रतिमा गौतमले पार्टी अब १५ औँ महाधिवेशनतर्फ केन्द्रित हुने बताउनु भयो । गौतमकाअनुसार आजको बैठकले १५ औँ महाधिवेशनको प्रारम्भिक कार्यतालिका प्रश्ताव गर्नेछ । उहाँले आगामी भदौसम्म महाधिवेशन सम्पन्न गर्ने गरी छलफल अगाडि बढ्ने बताउनु भयो । पार्टीभित्रको आन्तरिक विवादलाई साम्य पार्दै पार्टीलाई एकढिक्का राख्ने प्रयास भइरहेको उहाँको भनाइ छ । उहाँले कतिपय नेताहरुले सभापतिकै हस्ताक्षरमा चुनाव लडेर आएको तथा अहिले उहाँलाई नै मान्दिनँ भन्ने गरेको भन्दै उनीहरुमाथि नैतिकताको प्रश्न खडा भएको समेत बताउनु भयो ।
२३. जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले प्रतिवेदन सार्वजनिक गरी पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने बताउनु भयो । घटनाको सत्य अन्वेषण र न्याय निरुपणका लागि अब बन्ने सरकारले समेत पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ ।
२४. मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पती छानविन गरी अवैध सम्पती जफत गर्नुपर्ने आफूहरुको मुख्य माग रहने पनि बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रश्ताव गर्ने पनि बताउनु भयो । उहाँले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताउनु भयो ।
२५. मैले हतार र हतास मनिस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताउनुभयो । उहाँले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताउनु भयो ।
२६. छाती रोग अस्पताल अब छिट्टै सञ्चालनमा आउँछः स्वास्थ्य सचिव देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले छाती रोग अस्पताल सञ्चालनमा आउने बताउनुभएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो अस्पताल बनिसकेको र त्यसलाई सञ्चालनमा ल्याउने जिम्मेवारी सरकारले लिने बताउनु भएको हो । सचिव देवकोटाले सो अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्न पनि राष्ट्रिय क्षयरोग अनुसन्धान केन्द्रलाई निर्देशन दिनुभयो । सो अस्पताल संचालनका लागि अरु कुनै समस्या भए त्यसका जिम्मा स्वास्थ्य मन्त्रालयले लिने उहाँको भनाई थियो ।
२७. नेपालमा यस वर्ष पनि सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धि सम्मेलन हुने
नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धि सम्मेलन हुने भएको छ । सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा तेस्रो पटक यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । क्षयरोग तथा एचआईभी एड्स रोग नियन्त्रणमा देखिएको चुनौतिलाई सामना गरेर अघि बढ्ने उद्देश्यसहित यस वर्ष पनि सो सम्मेलन नेपालमा गर्न लागिएको सो केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताउनु भयो । मंगलवार विश्व क्षयरोग दिवसको अवसर पारेर भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि त्यस क्षेत्रका विज्ञहरुलाई सहयोग गर्न पनि आह्वान गर्नुभयो ।
२८. रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले उक्त जिकिर गर्नुभएको हो । उहाँले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गर्नुभयो । सो पार्टीको परराष्ट्रनीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ । उहाँले रास्वपा कुनैपनि राष्ट्रको हितमा प्रयोग नहोस भनेर आफ्नो पार्टीले खबरदारी गर्न लागेको समेत बताउनु भयो । महासचिव भट्टले भन्नुभयो,‘तपाईहरु वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ । र परराष्ट्र नीतिको सवालमा तपाईहरु क्लियर हुनुहुन्न । चीन विरोधी शक्तिको रुपमा अमेरिकाले तपाईहरुलाई प्रयोग गर्ने हो । त्यो गर्न दिनुहुन्न भनेका छौँ । यदि त्यस्तो भएन भने त के भयो र ? हामीनै गलत ठहरिउँला । देश बँच्दछ नि । देश बचेर हामी गलत ठहरिँदा त के बिग्रयो र । तर हामीेले खबरदारी गरेनौ भनेत समस्या होला नि ।’
२९. सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधिन पार्टीको आधिकारितासम्बन्धि मुद्दाको फैसला नभई काँग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलवार देउवा पक्षका नेता श्यामकुमार घिमिरेले पार्टीको आधिकारिता सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरु नरहेको प्रतिक्रिया दिनुभएको हो । नेपाली काँग्रेसका निवर्तमान सांसद समेत रहनुभएका घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाएपनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढनुपर्ने जिकिर गर्नुभयो । उहाँले काँग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो । नेता घिमिरेले नेपाली काँग्रेसका आधिकारिता सम्बन्धि मुद्दामा छिटो फैसला गर्न पनि सर्वोच्च अदालतलाई दवाव दिनुभयो ।
३०. मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ?
मध्यपूर्वमा बढ्दै गएको तनाव र अब के हुन्छ भन्ने प्रश्नलाई लिएर यतिबेला सबैको चासो बढेको छ । नेपालमा पनि यसको प्रभाव प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बढ्दै गइरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पूर्वी एशियामा रहेका नेपाली श्रमीकहरुको अवस्थालाई लिएर चिन्ता छ । साथै नेपालको अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष रुपमा नकारात्मक असर पर्न थालेको अधिकारीहरुको भनाइ छ । यसले नेपालमा सञ्चालनमा रहेका उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ ल्याउन कठिनाइ हुँदा यसको प्रत्यक्ष मार आम नागरिकले खेप्नुपर्ने निश्चित छ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय मध्यपूर्वको द्वन्द्वले नेपालको अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा चुनौती थपेको बताउनु हुन्छ । उहाँकाअनुसार रुस–युक्रेन युद्धले नेपाललाई केही प्रभाव पारे पनि अहिलेको जति पारेको थिएन । अहिले मध्यपूर्वको तनावले प्रत्यक्ष र गहिरो असर पार्न थालेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij