Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाली काँग्रेसको आधिकारिकता विवाद उत्कर्षमाः दुवै पक्ष निर्वाचन आयोग परिसरमा प्रदर्शन

नेपाली काँग्रेसको आधिकारिकता विवाद उत्कर्षमाः दुवै पक्ष निर्वाचन आयोग परिसरमा प्रदर्शन


  • 1.2K
    Shares

    नेपाली काँग्रेसको आधिकारिकता विवाद उत्कर्षमाः दुवै पक्ष निर्वाचन आयोग परिसरमा प्रदर्शन

    काठमाडौं । नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ । पार्टीको संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) र विशेष महाधिवेशन पक्ष (गगन थापा नेतृत्व) दुवैले एकअर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् ।

    विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीवार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो । त्यसको प्रतिवादमा शुक्रवार बिहानै देउवा पक्षका शिर्ष नेता तथा कार्यकर्ताहरूको जम्बो टोली आयोग पुगेको हो ।

    आयोग परिसरमा देउवा पक्षका नेताहरूले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेका छन् । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै आलोचना गरेका छन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानुनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

    यता, गगन थापा पक्षले पनि आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ । उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरिसकेको र पुरानो समिति स्वतः भंग भएको उनीहरूको तर्क छ ।
     
    निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ । आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा हुने बताइएको छ । 

    नेपाली काँग्रेसको यो विवादले आगामी निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ । 

    दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरेका छन् । यो विवादले नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ ।

     

     

     

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १७:०३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij