Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमाले विवाद निर्णायक मोडमा, एकता जोगाउन दोस्रो तहका नेताको जाेडबल

एमाले विवाद निर्णायक मोडमा, एकता जोगाउन दोस्रो तहका नेताको जाेडबल


  • 6.3K
    Shares

    एमाले विवाद निर्णायक मोडमा, एकता जोगाउन दोस्रो तहका नेताको जाेडबल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वैशाख २७ को तिथि नजिकिँदै गर्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद पनि निर्णायक मोडमा उभिएको छ ।

    पार्टीभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदै गर्दा दोस्रो तहका नेताहरू विवाद साँघुर्‍याउन कसरत गरिरहेका छन् । स्थायी कमिटी सदस्य तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोस्रो तहका नेताहरू आज (शनिबार) पनि छलफलमा जुट्ने जानकारी दिए । “पार्टीभित्रको विवाद मिलाउनुपर्छ भन्नेमा दुवैतर्फका नेताहरू एक मत हुनुहुन्छ,” उनले भने, “कसरी मिल्ने भन्नेचाहिँ टुङ्गो लागिसकेको छैन । हामी छलफलमै छौँ ।”

    प्रधानमन्त्री निवास बालुवाटामार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीतर्फबाट अर्थमन्त्री विष्णु पौडेल, उपनेता नेम्वाङ र प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल छलफलमा थिए । नेता माधवकुमार नेपालकातर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई वार्तामा थिए ।

    मूर्त प्रस्तावबिना नै ओली पक्ष छलफलमा
    वार्तामा सहभागी नेताहरूका अनुसार ओली पक्षसँग मूर्त प्रस्ताव छैन । वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल समूहले अदालतको फैसलाअनुसार २०७५ जेठ २ अर्थात् पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने बटम लाइन अघि सारेको छ ।

    ओली पक्षले २०७५ जेठ २ होइन अदालतको तत्कालीन नेकपाको विवादका बेला आफूहरूले गरेका निर्णय मात्रै होइन, अदालतको फैसलापछिका, विशेषतः फागुन २८ पछिका निर्णयसमेत स्वीकार्नेगरी सहमति खोज्नुपर्ने अडान तेर्स्याएपछि शुक्रबारको छलफल निष्कर्षविहीन बन्न पुग्यो ।

    नेता नेम्वाङकाअनुसार शुक्रबारको छलफलमा कार्यदलको प्रस्तावसमेत आएको थियो । तर, ओली पक्षसँग त्यसको ठोस खाका नभएकाले त्यो पनि अलपत्र परेको खनाल–नेपाल पक्ष बताउँछ । विगतमा पनि कार्यदल बनेका, त्यसको आधारमा पार्टी कमिटी निर्णयमा पनि पुगेको तर कार्यान्वयन नभएका उदाहरणहरू प्रशस्तै रहेकाले पनि खनाल–नेपाल पक्ष हच्चिएको नेताहरू बताउँछन् ।

    “उहाँहरूसँग (ओली पक्ष) विवाद समाधानको ठोस प्रस्ताव छैन । उही अल्मल्याउने, संवाद भइरहेको छ भन्ने देखाउने, असन्तुष्ट समूहभित्र फाटो पैदा गर्ने, कहिले सामूहिक राजीनामा दिँदैछन् भनेर हल्ला गर्ने र विषय बराल्नेजस्तो मात्रै देखिन्छ,” नेपाल पक्षका नेता भन्छन्, “मूर्त प्रस्ताव आओस् । तब मात्रै हामीले हाम्रा धारणा राख्न सकिन्छ ।”

    वार्तामा सहभागी नेता योगेश भट्टराई भने दुवै पक्षलाई मान्य हुनेगरी मिलन विन्दुको खोजी भइरहेको बताउँछन् । “पार्टीभित्रको विवाद समाधान गर्नुको विकल्प छैन । दुवै पक्षलाई मान्य हुनेगरी मिलन विन्दुको खोजी भइरहेको छ,” नेता भट्टराईले भने ।

    ओली–नेपालबीच पनि संवादको पहल
    नेता नेम्वाङका अनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीच पनि सार्थक संवादको पहल भइरहेको छ । उनले शुक्रबार ओली र नेपालबीच फोनमा कुरा गर्नेबारे छलफल भएको तर भएनभएकोबारे चाहिँ आफू यकिन हुन नसकेको बताए ।
     
    उनी दोस्रो तहका नेताहरूले विवाद साँघुर्‍याएपछि ओली–नेपालबीच निर्णायक छलफलको लख काट्छन् । उनका अनुसार आजको छलफलमा बोलाउनका लागि अर्थमन्त्री तथा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेललाई जिम्मा दिइएको छ । “हामी स्ट्यान्डबाइ छौँ । विष्णु पौडेलले कति बेलालाई बोलाउनुहुन्छ,” उनले भने ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - ११:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij