२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । बैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको हो । यस महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।
यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ०१ अर्ब ७५ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्कमा रहेको छ ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । एकै महिना १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आव्रवाह भएको रेकर्ड छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij