Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कुलमानले कागजी नाफा देखाउँदा प्राधिकरणका कर्मचारीलाई तलब दिनै समस्या छः हितेन्द्रदेव शाक्य

कुलमानले कागजी नाफा देखाउँदा प्राधिकरणका कर्मचारीलाई तलब दिनै समस्या छः हितेन्द्रदेव शाक्य


  • 5.4K
    Shares

    कुलमानले कागजी नाफा देखाउँदा प्राधिकरणका कर्मचारीलाई तलब दिनै समस्या छः हितेन्द्रदेव शाक्य
    images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले खोक्रो लोकप्रियताको पछाडि लागेर कागजी नाफा देखाउँदा संस्थाको हरिविजोग भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आरोप लगाएका छन् ।

    प्राधिकरणले तयार गरेको श्वेतपत्रमा संस्था कन्तबिजोग अवस्थामा पुग्दा टाटपल्टिने स्थितिमा पुगेको र तलब बाँड्ने रकमसमेत नभएको स्थितिमा पुगेको उल्लेख गरेको छ । प्राधिकरणले चालु आवको फाल्गुन मसान्तसम्म भएको ठेक्कापट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ, जुन भुक्तानी दिन सकेको छैन ।

    घिसिङलाई चैत ११ गते बर्खास्त गर्नुअघि ठीकठाक भनिएको प्राधिकरणको अवस्था एकाएक नाजुक देखिएको हो । घिसिङले कागजी नाफा देखाउँदा प्राधिकरण गम्भीर अवस्थामा पुगेको कार्यकारी निर्देशक शाक्य बताउछन् । हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रुपैयाँ रकम मध्ये मुद्दती खातामा ३ अर्ब ६८ करोड रुपैयाँ र धरौटी खातामा ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । २ अर्ब ४७ करोड रुपैयाँ चालु खातामा रहेको छ जुन दैनिक संचालनको लागि न्यूनतम जगेडा हो । यसरी निर्माण कार्यको बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब सम्म अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको छ ।

    आव २०८०/०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकलिन दायित्व वापत ४७ अर्ब २४ करोड रुपैयाँ र धरौटी बापत २४ अर्ब ११ करोड रुपैयाँ दायित्व रहेको छ । नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब र टनकपुर विद्युत वापत ३ अर्ब गरी कुल ३२.५ अर्ब दायित्व बाँकी छ ।

    नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड रुपैयाँ र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रुपैयाँ गरी २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो । प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको छ ।

    यसको अलावा २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । प्राधिकरण विरुद्ध विभिन्न अर्ध न्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकम सहितका मुद्दाहरुको सम्भावित दायित्व २०८१ फाल्गुन मसान्तसम्म ८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

    यसैगरी, प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कूल ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको संस्थागत जमानत प्रदान गरेको छ ।

    आव २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने चालु आव को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानी मै रहेको देखिन्छ ।

    आव २०८१/८२ को लागि प्राधिकरणको प्रक्षेपित आयको स्रोत १ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ छ तर २०८१/८२ को स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

    उक्त बजेट घाटा २९ अर्ब ७५ करोड रुपैयाँ मध्ये परिपूर्ति गर्ने अनुमान गरिएको थियो । १४ अर्ब ६५ करोड रुपैयाँ रकम नेपाल सरकारबाट बिगतका वर्षहरुको शोधभर्ना पाउनुपर्ने, ८ अर्ब २६ करोड रुपैयाँ डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता असुलिबाट पाउने र बाँकी १० अर्ब बराबरको ऋणपत्र जारी गरी परिपूर्ति गर्ने गरी बजेटमा नगद प्रवाहको अनुमान गरिएको थियो । साथै प्रक्षेपित आयमा विद्युत बिक्रीको अनुमान बढी राखिएको देखिन्छ ।

    गत असोजको बाढीबाट विभिन्न उत्पादन केन्द्रमा भएको क्षतिका कारण निर्यात घटेको र आन्तरिक विक्री समेत कम हुन गएबाट वास्तविक बिक्री करिब १८ अर्ब न्यून हुने देखिएको छ । आव २०८०/०८१ सम्ममा प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रहेको छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी, करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना छन् । यी आयोजनालाई यथाशीघ्र सम्पन्न गरी यसको प्रतिफल प्राप्त गर्नुपर्नेछ ।

    सरकारको प्राधिकरणमा सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ र अन्य जगेडा तर्फ ५ अर्ब ८९ करोड रुपैयाँ गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रुपैयाँ रुपैयाँ रहेको छ । यसरी नवनियुक्त कार्यकारी निर्देशक शाक्यले तयार पारेको श्वेतपत्रमा प्राधिकरण कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने स्थितिमा पुगेको देखिन्छ । तर श्वेतपत्र जारी गर्नबाट भने रोकिएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आज श्वेतपत्र निकाल्ने तयारी गरेका थिए ।

    शाक्यको सचिवालयले भनेको छ, ‘अर्को सूचना नआउँदासम्मको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ज्यूबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम केहि प्राविधिक कारणले गर्दा स्थगित गरिएको व्यहोरा अनुरोध छ ।’

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १७:०२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij