Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

युवराज खतिवडाका ज्वाईलाई गभर्नर बनाउन चलखेल, नसके ढुंगानालाई नै कामु बनाइराख्ने एमालेको योजना

युवराज खतिवडाका ज्वाईलाई गभर्नर बनाउन चलखेल, नसके ढुंगानालाई नै कामु बनाइराख्ने एमालेको योजना


  • 7.3K
    Shares

    युवराज खतिवडाका ज्वाईलाई गभर्नर बनाउन चलखेल, नसके ढुंगानालाई नै कामु बनाइराख्ने एमालेको योजना
    images

    काठमाडौं । गभर्नर नियुक्ति गर्न बनेको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ति गर्न बनाइएको सिफारिस समिति निरीह देखिएपछि उनले राजीनामा दिएका हुन् ।

    समितिलाई भूमिकाविहीन बनाउँदै सत्तारूढ दलका शीर्षस्थ नेताहरू नै गभर्नर बनाउन लागिपरेपछि उनले राजीनामा दिएका हुन् । हालसम्म बैठक पनि बस्न नसकेको सो समिति नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि आउने नामको आधारमा औपचारिकता पूरा गर्ने कठपुतली वा रबरस्ट्याम्प मात्र बन्ने देखिएपछि भट्टराई राजीनामाको निचोडमा पुगेका हुन् ।

    अर्थ मन्त्रालय आफूहरूको भएको हुँदा गभर्नर आफूहरूले भनेकै व्यक्ति हुनुपर्ने अडानमा नेकपा एमाले रहेको र कांग्रेस कुनै पनि हालतमा गभर्नर नछाड्ने पक्षमा देखिएपछि भाँजो हाल्न अनेक उपाय रचिरहेको बुझाइ उनको छ ।

    सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिको बैठक बस्न नसकेको भन्दा पनि नबसालिएको निष्कर्ष उनको छ ।

    समितिले तीन जनाको नाम सिफारिस गर्ने र तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्ने प्रावधान थियो । एक जना सदस्यले राजीनामा दिएपछि अब भने समितिलाई पूर्णता दिन मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएको हुँदा गभर्नर नियुक्ति अर्को सातासम्मलाई टरेको छ ।

    गत २४ चैतमै गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएर अवकाशमा गएपछि सरकारले निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको थियो ।

    नेपाली कांग्रेसले ज्ञानेन्द्र ढुंगाना र डा. रवीन्द्र पाण्डेलाई गभर्नर बनाउन लागिपरिरहेकामा परिस्थिति काबुमा नभएपछि कांग्रेसले डा. गुणाकर भट्टलाई गभर्नरको उम्मेदवारको रूपमा अगाडि सारेको थियो ।

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्टविरुद्ध एमालेले नै अनावश्यक मुद्दा राख्न लगाएको आरोप लागेको छ । न्यायालयले हेर्न नभ्याइने सूचीमा पारेपछि गभर्नर नियुक्ति अन्योलमा पर्न गएको थियो ।

    डा. भट्टलाई गभर्नरमा पक्कापक्की गरी राजीनामा गर्न लगाई बैंकक पुगेका कांग्रेस सभापति नफर्केसम्म गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा नै पर्ने भएको छ । डेपुटी गभर्नरबाहेक राष्ट्र बैंकको कुनै पनि कर्मचारीलाई सिधै गभर्नर बनाउन नमिल्ने तर्क एमालेको छ ।

    प्रधानमन्त्री ओलीले राष्ट्र बैंकको गभर्नर आफैं राख्ने योजना बनाएपछि कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै सरकारको विरोध गरिरहेका छन् ।

    बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शरेबहादुर देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटे पनि कांग्रेस र देउवा संशकित अवस्थामा नै रहेको थियो ।

    सिफारिस समितिले नाम सिफारिस गर्नुअघि नै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको समाचार बाहिरिएको छ भने त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता भएको थियो । राष्ट्र बैंक ऐनअनुसार सामान्य अवस्थामा गभर्नर रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

    एक महिना हुँदासमेत समितिको बैठक नडाकिएको र अदालतमार्फत गभर्नर नियुक्तिलाई पेचिलो बनाइएको भन्दै भट्टराई असन्तुष्ट थिए । एमाले र कांग्रेसका केही नेताले सुरुमा स्वार्थ समूहले बोकेका पात्रलाई गभर्नरका रूपमा अगाडि सारेका थिए । त्यसमध्ये राजेन्द्रकिशोर क्षेत्री र डा. रवीन्द्र पाण्डे उमेर हदको विषय अदालतमा पुगेपछि पहिलो चरणबाट बाहिरिएका थिए ।

    सरकारले ६५ वर्षभन्दा बढी उमेरकालाई सार्वजनिक निकायमा नियुक्त नगर्ने अघिल्लो मार्गदर्शनलाई संशोधन गर्दै उमेरको व्यवस्थै हटाइदिएको थियो । यही विषयलाई टेकेर अदालतमा मुद्दा परेको थियो । अदालतले ६५ वर्ष उमेर नाघेकालाई नियुक्त नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सो मुद्दालाई आइतवार पेशी तोकेकामा सर्वोच्चले हेर्न नभ्याइने भन्दै पन्छाएको छ ।

    कहिले बिचौलियाले अगाडि सारेको मान्छेका कुरा आउने र अहिले अदालतमार्फत किचलो गर्न खोजिएकामा पूर्वगभर्नरसमेत रहेका विजयनाथ भट्टराई असन्तुष्ट थिए ।

    प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री एवं पूर्वगभर्नर डा. युवराज खतिवडा गभर्नर हुने लाइनमा रहेका कुनै पनि व्यक्तिप्रति असन्तुष्ट रहेकाले प्रक्रिया नै अगाडि बढाउन नदिएको बुझाइ छ । उनले नेपाल राष्ट्र बैंकको निर्देशकबाट हालै बढुवा भएका डा. रामशरण खरेललाई गभर्नर बनाउन चलखेल खेलिरहेको आरोप लागेको छ ।

    डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि डा. खरेल १५ फागुन २०७४ देखि काजमा अर्थमन्त्रीको निजी सचिवालयमा कार्यरत थिए । १४ फागुन २०७४ मा खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएको भोलिपल्ट १५ फागुनमा अर्थमन्त्री खतिवडाले ‘आजकै मितिदेखि अर्थ मन्त्रालयमा काजमा खटाइदिन’ राष्ट्र बैंकलाई पत्राचार गरेका थिए ।

    तत्कालीन समयमा डा. खरेल नेपाल राष्ट्र बैंकको विराटनगर कार्यलयमा उपनिर्देशक पदमा कार्यरत थिए । उनलाई अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयमा काजमा ल्याएकै बेलामा बढुवा भएर निर्देशक भएका थिए । डा. खरेल अर्थमन्त्री डा. युवराज खतिवडाको ज्वाइँ हुन् ।

    नेकपा एमाले भने आफूहरूले खोजेको व्यक्ति गभर्नर बनाउन नसकिने अवस्थामा पुगेको खण्डमा निलम ढुंगानालाई नै कामु गभर्नर बनाइराख्ने योजनामा रहेको छ । सोही कारणले सरकारले निलम ढुंगानालाई निमित्त नदिईकन कायममुकायम दिएको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ०४:३२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij