२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषले कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब ५ अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ ।
सञ्चयकर्ताको खातामा करिब ५ अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषको योगदानकर्ताको खातामा करिब ६ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जानकारी दिएको छ । हाल कोषमा ५ लाख ७५ हजार सञ्चयकर्ता र ८० हजार ४०० निवृत्तभरण कोषका योगदानकर्ता रहेको छ ।
यही चैत १७ गतेको बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ताहरूको व्यक्तिगत खातामा भएको मौज्दात रकममा १.१० % को दरले मुनाफाको रूपमा वितरण गर्ने निर्णय गरेको थियो । कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको ९२% रकम सञ्चयकर्ताको लागि मुनाफा र कल्याणकारी प्रयोजनको लागि वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्नेको छ ।
चालु आर्थिक वर्षमा सञ्चित रकममा ५.५० प्रतिशतको दरले व्याज प्रदान गरिरहेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले कोषबाट ६.६० % व्याजमा सञ्चित रकमको ९०% सम्म विशेष सापटी पाउने गरेका छन् । कोषले सञ्चयकर्ता तथा योगदानकर्ताको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष, घर, शैक्षिक, घर मर्मत, सरल र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ ।
काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुविधा प्रदान गर्दै आइएको छ । जसअन्तर्गत आर्थिक वर्षमा दुर्घटना क्षतिपूर्ति २ करोड १४ लाख, स्वास्थ्य उपचार सोधभर्ना ३४ करोड ६५ लाख, सुत्केरी तथा शिशु स्याहार सुविधा १४ करोड ६५ लाख, काजकिरिया अनुदान २ करोड ८२ लाख र विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका ४७ सञ्चयकर्तालाई करिब रु ७० लाख प्रदान गरिएको कोषले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij