२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् विघटन फेरि हुन नपाउने परिस्थिति निर्माण गर्न सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको बाध्यात्मक परिस्थिति देखाएको छ।
स्थायी कमिटीको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘फेरि पनि संसद् विघटन हुने कार्य सकेसम्म नहोस् भनी समर्थन फिर्ता नलिएको हो।’ माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको कारण कांग्रेस र जनता समाजवादीले निर्णय लिन नसकेको सत्य नभएको उनले दाबी गरे।
‘यो सरकारलाई माओवादी केन्द्रले समर्थन छैन भनी लेखेर नदिएका कारण कांग्रेस र जसपाले निर्णय नगरेको होइन,’ श्रेष्ठले भने, ‘आफ्नै दृष्टिकोणको आधारमा उनीहरुले निर्णय गर्नुपर्यो। यो सरकार राख्ने कि अविश्वासको प्रस्ताव पेस गर्ने, त्यसका लागि गम्भीर अपिल गर्दछौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन नभएको 'स्ट्याण्ड बाई पोजिसन' रहेको उल्लेख गर्दै नेता श्रेष्ठले प्राविधिक कारणले मात्रै पत्र नलेखेको प्रस्ट्याए।‘अदालतको आदेशले दुई दल बनाइदिएपछि हामीसँग समर्थन मागिएको पनि छैन। हामीले समर्थन गरेका पनि छैनौं। औपचारिक रुपमा लेखेर दिने मात्रै कुरा हो,’ श्रेष्ठले भने।
स्थायी कमिटीको बैठकले अरु दलले स्पष्ट निर्णय नगर्दा ओली सरकार रहेको जनाएको छ। ओली सरकारमा जाने कि अविश्वासको मत ल्याउनेमा कांग्रेस र जसपा स्पष्ट हुनुपर्ने उनले बताए। ओली सरकारमा जाने इच्छा भए जान आग्रह गर्दै उनले भने,‘केपीलाई समर्थन गर्न मन भए गरे हुन्छ, केपीको सरकारमा जान मन भए गए हुन्छ। तर, प्रस्ट निर्णय हुनुपर्यो। प्रमुख प्रतिपक्षी पार्टीले प्रस्ट निर्णय गर्छ भन्ने विश्वास छ।’
संसद् विघटनलाई असंवैधानिक भनी संघर्ष गरेका दलले नयाँ सरकार बनाउन एक ठाउँमा उपस्थित हुनुपर्ने माओवादी केन्द्रको अपेक्षा रहेको उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij