२०८२ माघ १४ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा मनोनयन दर्ता गराएका छन्। वैशाख १० गते हुने उपनिर्वाचनका लागि सभापति लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
लामिछाने मंसिर ४ गतेको निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए। लामिछाने विरुद्ध तीन दलले उम्मेदवारी दिँदैछन्। कांग्रेसले जितनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ।
निर्वाचन आयोगले सबै दललाई फरक फरक समय तोकिदिएको छ। लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताका लागि समय लिए पनि तनहुँ जाने कार्यक्रम भएकाले बिहानै उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसलाई दिउँसो २ बजे, एमाले ३ बजे र राप्रपालाई अपराह्न ४ बजे उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ।
चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन्।
पौडेलले आफ्नो समूहको समर्थन रविलाई गरेको बताए। ‘रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ,’ पौडेलले भने, अब हामी हाम्रो समूह चुनावमा खटिन्छौँ।’ साथै उनले रास्वपा क्रियाशील हुने संकेत पनि गरे।
‘मैले कांग्रेसमा मेरो जवानी र लामो समय गुमाए,’ तर, मेरो क्षमता, योग्यतालाई पार्टीले अपमान गर्यो, मलाई कारवाही गर्यो, मेरो विगतका सबै योगदान शून्यको स्थितिमा पुर्यायो, मलाई थन्क्यायो,’ पौडेलले थपे, ‘अब परिवर्तनका लागि मेरो शक्ति, क्षमता र खाँचो रास्वपाले देख्यो, उहाँहरुले मेरो आवश्यक रहेको बताउनुभयो।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij