२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् ।
सहित तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए ।
पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए । उनले यसका विरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे ।
“मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दापनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ । अहिले यत्रो आक्रमण भइरहेको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि । हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ । सक्नेहरु विचार मिल्नेहरु एउटै पार्टी बनाउँ । यस्ता मुद्दामा कार्यगत एकता गरौँ । त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा शहीदहरुको सपना पूरा गर्छ,” उनले भने ।
पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij