Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्वाचित, को हुन् उर्मिला अर्याल ?

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्वाचित, को हुन् उर्मिला अर्याल ?


  • 3.5K
    Shares

    राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्वाचित, को हुन् उर्मिला अर्याल ?

    नेकपा (माओवादी केन्द्र)की नेत्री उर्मिला अर्याल नौ वर्षअघि परित्याग गरेको नेकपा (एमाले) सहितको गठबन्धनको उम्मेदवार हुँदै राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी छन्।

    राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलको उम्मेदवारी नपरेपछि नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। उपाध्यक्षका लागि माघ २२ गते भएको मनोनयन दर्ता कार्यक्रममा प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलहरूले उम्मेदवार नउठाएपछि अर्याल निर्विरोध भएकी हुन्।

    विद्यार्थी राजनीतिबाट आएकी अर्यालले लामो समय नेकपा (एमाले)बाट राजनीति गरिन्। एमालेमा रहँदा उनी मन्त्री समेत भइन्। तर‚ एमालेको महिला संगठन अखिल नेपाल महिला संगठन (अनेमसंघ) को अध्यक्ष बन्न नपाएको झोंकमा अर्यालले २०७० जेठ ४ मा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरिन्।

    २०६९ फागुनमा कास्कीको पोखरामा अनेमसंघको सम्मेलन भयो। उक्त सम्मेलनमा अध्यक्षको प्रत्यासी बन्ने अर्यालको योजना थियो। तर, उनले सम्मेलनमा उम्मेदवार नै बन्न पाइनन्। तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीले आफूलाई उम्मेदवारी दर्ता गर्नै नदिएको उनको आरोप छ। सम्मेलनबाट भण्डारी पुनः अध्यक्षमा दोहोरिएकी थिइन्। 

    माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)को इन्चार्ज रहेकी अर्याल पूर्व पार्टी एमालेको समेत सहयोगमा राष्ट्रिय सभा उपाध्यक्ष भएकी छन्।

    २०१३ असोज २० गते पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा उर्मिला अर्यालको जन्म भएको हो। उनका आमा जगतमाया र बुवा बलराम अर्याल हुन्। 

    २०२६ सालमा विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेकी उनले २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता प्राप्त गरेकी थिइन्।

    सोही वर्ष तत्कालीन नेकपा चौमको जिल्ला सदस्य, २०३६ सालमा चौम अन्तर्गत रहेको अनेमसंघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य भएकी थिइन्। सोही वर्ष वीरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पस स्ववियु उपसभापतिमा निर्वाचित भएकी थिइन्।

    २०३८ सालमा भारतको अयोध्यामा भएको चौम अन्तर्गत अनेमसंघको पहिलो राष्ट्रिय सम्मेलनबाट अर्याल केन्द्रीय अध्यक्षमा निर्वाचित भएकी थिइन्। सोहो वर्ष अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलन र शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा उनले अध्यक्षता समेत गरेकी थिइन्।

    २०४६ सालसम्म महिला विकास अधिकृत रहेकी अर्यालले जागीरबाट राजीनामा दिएर तत्कालीन एमाले प्रवेश गरेकी थिइन्। एमालेमा रहँदा उनले जनवर्गीय संगठन अनेमसंघ, किसान महासंघ लगायतका संगठनको विभिन्न जिम्मेवारीमा रहेर काम गरिन्।

    २०४८ र २०५१ सालमा पर्सा क्षेत्र नं ४ मा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बने पनि निर्वाचित भने हुन सकिनन्। यद्यपि‚ २०५६ मा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन्। 

    अर्याल एमालेमा रहेर संगठन निर्माणमा महत्त्वपूर्ण योगदान दिने पुराना नेतामध्ये पर्छिन्। २०५९ माघमा भएको सातौं महाधिवेशनबाट एमाले वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी २०६३ सालको अन्तरिम सरकारमा महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री भएकी थिइन्।

    २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनबाट एमाले पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी थिइन्। २०६७-२०६८ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत बनेकी थिइन्। नेकपा मसाल पृष्ठभूमिकी अर्यालले २०७० जेठ ४ गते माओवादी प्रवेश गर्दा ‘म पुरानै घर फर्किएँ’ भनी बताएका थिइन्।

    भारतको इन्दिरा गान्धी विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अर्याल भारतको पञ्जाबस्थित रिम्टस् विश्वविद्यालयबाट राजनीतिक समाजशास्त्रको विद्यावारिधिको विद्यार्थी समेत हुन्। उनले साहना प्रधानसँग कम्युनिस्ट आन्दोलनमा महिलाहरुको भूमिका नाम पुस्तकको सहलेखन समेत गरेकी छन्। 

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १२:४५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij