२०८२ माघ ८ गते बिहिवार
राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदैछ। सोमबार बिहान ११ बजेर ५९ मिनेटमा सुरु हुने राष्ट्रियसभा बैठकमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष चयन गरिँदैछ।
उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्ने, राष्ट्रिय सभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुनेछिन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।
राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij