२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछन् ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो । भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् । सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेका हुन् ।
काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ । यसअघि मातृ पार्टीको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरुले माघ १९ गते देशभर प्रदर्शन गरेका थिए । यस्तै, प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणमा पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा पालिका र माघ ८ मा वडास्तरीय प्रदर्शन गरेका थियो । पहिलो चरणमा पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।
काँग्रेसले संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख सरकारको प्रवृत्ति विरुद्ध थप संघर्ष पनि जारी रहने बताएको छ । संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाइने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्ने काँग्रेसले बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिल गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij