२०८२ भाद्र ४ गते बुधवार
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले परिषद् भेला सम्पन्न गराउन ७ वटै प्रदेश र ७७ वटै जिल्ला अध्यक्षहरूलाई अनुराेध गरेकाे छ । उक्त भेला सम्पन्न गराउन परिषद्ले शुक्रबार पत्राचार गरेको हो ।
२०७९/०३/१८ गते सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडामा सम्पन्न संयुक्त बैठकको निर्णय अनुसार स्थानीय तह स्तरीय कमिटीको परिषद्, जिल्ला र प्रदेश कमिटीलाई समेत यही भदौ २५ गते भेला सम्पन्न गर्ने भनिएको थियो । तर सो मिति अवधिमा आन्दोलन भैरहेकाले पछाडि धकेलिएको परिषद्ले स्पष्ट पारेको छ ।
सांगठनिक गतिविधि गर्नु प्रत्येक संगठनको प्रमुख कर्तव्यलाई ध्यानमा राख्दै आगामी असोज मसान्तसम्म स्थानीय जिल्ला र प्रदेश परिषद् सम्पन्न गर्नुका साथै सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन माथिल्लो कमिटीलाई बुझाउने गरी अनिवार्य रूपमा सम्पन्न गर्न तथा अर्काे सूचना जारी नहुँदासम्मका लागि यसै परिपत्रलाई आधार मान्न परिषद्ले ७ प्रदेश र ७७ जिल्लाका अध्यक्षहरूलाई अनुरोध गरेको छ ।
साथै राष्ट्रिय समितिले विधान बमोजिमको परिषद् शुल्क बुझाउन पनि भनेको छ ।
विद्यालय कर्मचारीको माग पूरा गराउन विभिन्न मन्त्री तथा पार्टीका नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउने काम भैरहेको परिषद्ले जनाएको छ । माग पूरा नभए परिषद् पूर्वनिर्धारित आन्दोलनका कार्यक्रममै फर्किने महासचिव शान्तिनाथ योगीले जानकारी दिए । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij