Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 246
    Shares

    आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

    पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको छ । श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सुक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उहाँले बताउनु भयो । प्रदुषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू उच्च जोखिममा रहेकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ । 

    २. न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी

    महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको बताउनुभएको हो । महिलाहरूले पारिवारिक र पेसागत जीवनको सन्तुलन मिलाउँदै ‘ग्लास सिलिङ’ तोडेर अघि बढेको बताउनु भयो । उहाँले महिलाको सफलता केवल योग्यताको मात्र नभई दृढ निश्चय र धैर्यताको प्रतिफल भएको बताउनु भयो । यद्यपि, समाजले अझै पनि महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न नसकेको बताउनु भयो । सबै सामाजिक अवरोधहरूलाई चिरेर अगाडि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ । 

    ३. जोनाथनको ह्याट्रिकसँगै लिगको मच्छिन्द्र शिर्ष स्थानमा 

    जोनाथन इडवार्डोको ह्याट्रिक प्रेरणामा मच्छिन्द्र क्लव जारी राष्ट्रिय लिगमा सातौं जितसँगै लिगमा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दोस्रो खेलमा मच्छिन्द्रले लिगकै सबैभन्दा कमजोर टोली नव जनजागृति क्लवलाई ४–० ले सहजै हरायो । मच्छिन्द्रको जितमा जोनाथनले ह्याट्रिक पूरा गरे । रेजिन सुब्बाले एक गोल थपे । यो जितसँगै मच्छिन्द्र शिर्ष स्थानमा उक्लियो । ९ खेलबाट मच्छिन्द्रले २२ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । जुन दोस्रो स्थानमा एपिएफको भन्दा एक अंकले कम हो । मच्छिन्द्रले पूर्ण रूपमा बल आफ्नो नियन्त्रणमा राखेर खेल्यो । पहिलो हाफमा मच्छिन्द्रले एक गोल मात्र गोल गरेको थियो । तर, दोस्रो हाफमा भने मच्छिन्द्र आक्रामक बन्यो र तीन गोल थप्यो । मच्छिन्द्रले खेलको ११औं मिनेटमा जोनाथन इडवार्डोको गोलबाट अग्रता लिएको थियो । 

    ४. औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै, ओएनएम अगाडि बढ्यो

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरणको गर्ने भएको छ । शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले यस्तो बताउनुभएको हो । उहाँले जनशक्ति र पूर्वाधारको अभावमा यी निकायले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो आइरहेका बेलासुधारका प्रक्रियाहरू अगाडि बढिसकेको जानकारी दिनुभयो । डा. दासकाअनुसार हाल राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वर्षमा जम्मा ५ देखि ६ सय वटा औषधिको मात्र परीक्षण गर्नसक्ने रहेको छ ।जबकि आवश्यकता ९ देखि १२ हजारसम्मको छ । यी दुवै निकायको सुदृढीकरणका लागि जनशक्ति थप गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अगाडि बढिसकेको डा. दासले जानकारी दिनुभयो । जनशक्तिका साथसाथै नयाँ प्रविधि र पूर्वाधार विकासको काम पनि द्रुत गतिमा अगाडि बढिरहेको उहाँले बताउनु भयो । 

    ५. ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’ का रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताउनुभएको हो । हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिव ४० देखि ५० प्रतिशत मात्र धानिरहेको बताउनु भयो । उहाँले स्वदेशी उद्योगहरूले उत्पादन क्षमता बढाएर बाहिरबाट आयात हुने औषधिलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राखेर खरिद गर्न चाहेको स्पष्ट पार्दै डा. दासले मूल्य र गुणस्तरमा भने उद्योगीहरूले सम्झौता गर्न नहुने बताउनु भयो ।  
    डा. दासले भन्नुभयो, ‘हामीलाई सस्तो, गुणस्तरीय र पर्याप्त औषधि चाहिएको छ ।

    ६. इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

    अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु भएको छ । फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमण शुरु भएदेखि महिला र बालबालिकासहित कम्तीमा १ हजार ३ सय ३२ इरानी सर्वसाधारण मारिएका छन् । हजारौं घाइते भएका इरानका संयुक्त राष्ट्र संघका राजदूत अमिर सइद इरावानीले बताउनु भयो ।

    ७. इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा यो हप्ताभित्र आक्रमण सकिन्छ त भनी सोधिएको प्रश्नमा ट्रम्पले नसकिने जवाफ दिनुभयो । ट्रम्पले विरोधाभासपूर्ण जस्तो सुनिने सन्देश प्रश्तुत गर्दै अमेरिकी लक्ष्यहरू धेरै हदसम्म पूरा भइसकेको घोषणा गर्नुभयो । अर्कोतर्फ अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युद्ध भर्खरै शुरु भएको छ भनी दिएको पूर्व चेतावनीको पनि समर्थन गर्नुभयो । ट्रम्पका अनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण शुरु गरेयता अमेरिकी सेनाले ५ हजारभन्दा बढी लक्ष्यहरूमा प्रहार गरिसकेको छ । इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनीलाई चयन गरिएकोमा आफू निराश भएको ट्रम्पले बताउनु भयो । तर युवा खामेनीलाई घातक आक्रमणको निशाना बनाइन्छ कि बनाइँदैन भन्ने प्रश्नको जवाफ दिन भने उहाँले अस्वीकार गर्नुभयो । ट्रम्पले ह्वाइट हाउसले मूल्य घटाउन तेलसँग सम्बन्धित केही प्रतिवन्धहरू फुकुवा गर्ने पनि बताउनु भयो । तर कुन–कुन प्रतिवन्धहरू हटाइनेछ भन्ने खुलाउनु भएन । 

    ८. बेरुतमा इजरायली हवाई आक्रमणमा १ जनाको मृत्यु, १२ घाइते

    लेबनानी सुरक्षा स्रोतकाअनुसार बेरुतको दक्षिणी उपनगरहरूमा भएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । इजरायली लडाकु विमानहरूले सोमवार बिहानदेखि १० भन्दा बढी हवाई आक्रमण गरेका छन् । जसमा राजधानीको दक्षिणी उपनगरका धेरै क्षेत्रहरू जस्तै हरेत हरिक र बिर अबेदलाई लक्षित गरिएको थियो। इजरायलले संगठनलाई आक्रमण गर्ने धम्की दिएपछि दाहिए क्षेत्रमा रहेको अल–कर्ड अल–हसन वित्तीय संस्थाका शाखाहरूलाई पनि आक्रमणको निशाना बनाइएको थियो । सोमवार लेबनानका राष्ट्रपति जोसेफ आउनले लेबनानमाथि इजरायलको निरन्तर आक्रमणले आफ्नो उद्देश्य हासिल गर्न नसक्ने बताउनुभएको छ । उहाँले बेरुत नोभेम्बर २०२४ मा घोषणा गरिएको युद्धविराम सम्झौताप्रति प्रतिवद्ध रहेको कुरामा जोड दिनुभयो । उहाँले तनाव कम गर्न आवश्यक सुरक्षा बुँदाहरूमा छलफल गर्न र वार्ता पुनः शुरु गर्न लेबनान तयार रहेको पनि पुष्टि गर्नुभयो । उहाँले इजरायली आक्रमण अन्त्य गर्न काम गरिरहेका धेरै देशहरूलाई यो अडान अवगत गराएको उल्लेख गर्नुभयो । 

    ९.मध्यपूर्वको तनाव न्युनिकरणका लागि युरोपेली संघ सहयोग गर्न तयार

    युरोपेली संघ (ईयू) का नेताहरूले सोमवार मध्यपूर्वमा जारी तनाव कम गर्नका लागि आफ्नो तर्फबाट भुमिका खेल्न तयार रहेको बताएका छन् । उनीहरूले स्थितिको न्युनिकरण र पुनः वार्ताको प्रक्रियामा फर्कन समेत आह्वान गरेका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस क्षेत्रका नेताहरूसँगको भिडियो कन्फरेन्सपछि जारी गरेको संयुक्त वक्तव्यमा ईयू तनाव कम गर्न र वार्ताको टेबलमा फर्कन सहयोग पु¥याउन हरसम्भव योगदान दिन तयार रहेको उल्लेख गरिएको छ । उनीहरूले संवाद र कुटनीति नै अगाडि बढ्ने एक मात्र व्यावहारिक मार्ग रहेको कुरामा जोड दिएका छन् ।वक्तव्यका अनुसार भोन डेर लेयन र कोस्टाले मध्यपूर्वको क्षेत्रीय स्थिरताका लागि ईयुको प्रतिवद्धता पुनः दोहो¥याउँदै सर्वसाधारणको सुरक्षा, अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको पूर्ण पालना गर्न समेत आह्वान गरेका छन् ।

    १०. मध्यपूर्वको समस्या समाधानमा पुटिन सहयोगी बन्न चाहन्छन्ः अमेरिकी राष्ट्रपति ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन संकट र इरानसँगको अमेरिका–इजरायल युद्धका विषयमा निकै राम्रो टेलिफोन वार्ता भएको बताउनुभएको छ । सोमवार भएको उक्त वार्तामा आफ्ना रुसी समकक्षी मध्यपूर्वमा सहयोग गर्न इच्छुक रहेको ट्रम्पले उल्लेख गर्नुभयो । फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले निकै राम्रो कुराकानी भएको र पुटिन निकै रचनात्मक रहेको बताउनु भयो । 
    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेपछिको यो पहिलो फोन वार्ता हो । सो अवसरमा दुई नेताबीच पाँचौँ वर्षमा प्रवेश गरेको रुस–युक्रेन युद्धको विषयमा पनि छलफल भएको ट्रम्पले जानकारी दिनुभयो । ट्रम्पले यस विषयमा सकारात्मक कुराकानी भएको बताउनुभएको छ । 

    ११. मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु

    लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले बताएअनुसार मार्च २ यता लेबनानभर इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको छ । जसमा ८३ बालबालिका र ४२ महिला रहेका छन् भने अन्य १ हजार १ सय ३० जना घाइते भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नसरेद्दिनले घाइतेहरूमा २५४ बालबालिका र २७४ महिला रहेको बताउनु भयो । धेरैजसो आक्रमणले आवासीय क्षेत्र र नागरिक सुविधाहरूमा प्रहार गरेको छ । दक्षिणी र पूर्वी लेबनानमा विगत ४८ घण्टामा धेरै घातक घटनाहरू रेकर्ड गरिएका छन् । बेका उपत्यकामा भएको एक आक्रमणमा एउटै परिवारका छ जना सदस्य – चार बालबालिका र उनीहरूका आमाबाबु – मारिएका थिए । जबकि शहर र गाउँहरूमा भएका अन्य आक्रमणहरूले धेरै हताहत गराएका छन् । नसरेद्दिनले यो पनि भने कि उद्धार कार्यमा खटिएका बेला आपतकालीन र चिकित्सा टोलीहरूलाई प्रत्यक्ष निशाना बनाइएको छ ।

    १२. विरोधका बीच दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास शुरु

    दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमवार आफ्नो वार्षिक ‘फ्रिडम शिल्ड’ संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । यस अभ्यासले क्षेत्रीय तनाव बढाउन सक्ने र कोरियाली प्रायद्वीपमा शान्ति खलबलाउन सक्ने भन्दै सियोलका नागरिक समूहहरूले विरोध प्रदर्शन गरेका छन् । दक्षिण कोरियाको जोइन्ट चिफ्स अफ स्टाफकाअनुसार मार्च १९ सम्म ११ दिन चल्ने यस अभ्यासमा वास्तविक सेनाको चालबाजी समावेश हुने २२ वटा फिल्ड ट्रेनिङ (मैदानी प्रशिक्षण) अभ्यासहरू रहेका छन् । सियोल र वासिङ्टनले यस अभ्यासलाई रक्षात्मक प्रकृतिको भनेर वर्णन गरेका छन् । तर आलोचकहरू यस्ता ठूला युद्ध खेलहरूले यस क्षेत्रमा टकराव बढाउने बताउँछन् । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) ले लामो समयदेखि यी अभ्यासहरूलाई आक्रमणको पूर्वाभ्यास भन्दै निन्दा गर्दै आएको छ । 

    १३. संसद भवन नबनेपछि प्रतिनिधि सभा संसद परिसरकै बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी

    निर्माणाधिन नयाँ संसद भवन समयमा नै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठकहरू संसद परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभाको सभाकक्ष समयमै तयार हुन नसकेपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो । संघीय संसद सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको बैठक नयाँ निर्माणाधीन संसद भवन परिसरमै बस्ने भएपनि मुख्य सभाकक्ष निर्धारित समयमा तयार नहुने सम्भावना देखिएकाले वैकल्पिक व्यवस्था गरिएको जानकारी दिनुभयो । सरकारले प्रतिनिधि सभाका लागि निर्माण गरिरहेको सभाकक्ष चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । तर पछिल्लो प्रगति हेर्दा सो मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको सचिवालयका प्रवक्ता गिरीले जानकारी दिनुभयो । शहरी विकास मन्त्रालय तथा निर्माण व्यवसायीसँग समन्वय गरी बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । 

    १४. स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक ५ लाख नेपाली गरिबीको रेखामुनिः तोसिमा कार्की

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनी पुगेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिव पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गर्नुभयो । नेपालमा औषधि सस्तो रहेको दाबी गरिएपनि व्यवहारमा नागरिकले ठूलो आर्थिक बोझ व्यहोर्नुपरेको उहाँको भनाई छ । उहाँले औषधि र स्वास्थ्य सेवा दुबैलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । कम गुणस्तरका औषधि वितरण गर्नु र त्यसको प्रभावकारी नियमन नगर्नु गम्भीर अपराध भएको उहाँले बताउनु भयो । यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ । उहाँले औषधि ऐनलाई पनि संसोधन गर्नुपर्ने बताउनु भयो । २०३५ सालमा बनेको औषधि ऐन अहिलेको समयानुकुल नभएको उहाँको भनाई छ । 

    १५. बुधवार बिहानसम्म समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइसक्छः आयोग

    प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगले सो जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताउनु भयो । उहाँकाअनुसार मंगलवार अपरान्हसम्म ३÷४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जि.सी.ले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको बताउनु भयो । यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जि.सीले बताउनु भयो । 

    १६. न्यायमा पहुँच अभिवृद्धिका लागि सम्बन्धित सबै पक्षको भुमिका महत्वपूर्ण हुन्छः शारङ्गा सुवेदी

    सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि न्यायालयमा बसेर काम गर्ने सबैको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । न्यायाधीश सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि सम्बन्धित सम्बन्धित हरेक व्यक्ति वा संस्थाले काम गर्नुपर्ने बताउनु भयो । उहाँले महिला अधिकारको सुनिश्चितताका लागि परिणाममुखि काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । न्यायाधीश सुवेदीले भन्नुभयो,‘न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि बेञ्चमा मात्रै न्यायाधीश भएर हुँदैन । होल सिष्टममा जो जसले बसेर योगदान पु¥याउनु हुन्छ । बारमा बसेर योगदान पु¥याउने कानून व्यवसायीदेखि लिएर हाम्रो न्यायालयको सिष्टममा बसेर काम गर्नुहुने सबै तहका कर्मचारीहरुको यसमा महत्वपूर्ण भुमिका रहन्छ भन्ने कुरालाई यस वर्षको स्लोगनले आत्मासात गरेको मैले महशुस गरेको छु । र, यो स्लोगन आज हामीले भन्ने मात्रै होइन, आगामी दिनमा अभ्यास गर्ने हो, सबै होल सिष्टममा इज एण्ड एभ्री पर्सनले पु¥याउने योगदानले एक्जिस टु टस्टिसलाई सहयोग पु¥याईरहेको हुन्छ भन्ने भावना अनुसार काम गर्नेछौँ ।’

    १७. न्यायाधीशहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेका छन्ः सपना प्रधान मल्ल

    सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पार्नुभयो । न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताउनु भयो । 

    १८. प्रेस काउन्सिललाई पत्रकार महासंघले भन्योः महिलाद्वारा सञ्चालित मिडिया वर्गीकरणलाई प्राथमिकता दिइयोस्

    नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारहरुले संचालन गरेका मिडियाहरुलाई वर्गीकरणमा प्राथमिकता दिन प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष शर्माले नीति निर्माणको तहमा लंैगिकमैत्री दृष्टिकोण राख्नेहरु भए मात्रै महिला पत्रकारमैत्री वातावरण बन्नसक्ने अवस्था रहेको समेत बताउनु भयो । उहाँले महिला पत्रकारहरु सुरक्षित इकोसिष्टका लागि उनीहरुको घरबाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औँल्याउनु भयो । महिला पत्रकारहरुलाई काम गर्ने वातावरण बनाउने काममा उनीहरुको घरले विशेष भुमिका खेल्नुपर्ने अध्यक्ष शर्माको भनाई थियो । 

    १९. झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

    प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने उद्घोष गर्दै चुनावमा होमिएर दुई तिहाई नजिकको म्याण्डेट पाएको रास्वपा सरकार अबको १÷२ हप्तामै बन्ने देखिन्छ । अब बन्ने बालेन सरकारको आर्थिक नीति कस्तो होला भन्नेमा अहिले धेरैको चासो बढेको छ । रास्वपाले आफ्नो आर्थिक नीतिबारे नागरिक करारपत्र र वाचापत्रमा खुलाएको छ । रास्वपाले चुनाव अघि सार्वजनिक गरेको नागरिक करारपत्रमा सामाजिक न्यायसहितको उदार अर्थनीति अबलम्बन गर्ने बताएको छ भने मध्यम वर्गीय विस्तार गर्ने उसको योजना छ । हाल न्युन प्रतिव्यक्ति आय रहेको सन्दर्भमा नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक’ बनाउन औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रतिशत (स्थिर मूल्यमा) कायम गर्दै पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा ३००० डलर र अर्थतन्त्रको आकारको लक्ष्य १०० अर्ब डलर (प्रचलित मूल्यमा) बनाउने नीति रास्वपा सरकारको हुनेछ ।

    २०. सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने

    सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयकाअनुसार सरककारले विकास ऋणपत्र बोलकबोल मार्फत ५ वर्षका लागि ६ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्र २०८७ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २६ फागुनमा हुनेछ भने निष्कासन २७ फागुनमा हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने कार्यालयले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिनेछ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।– न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १८:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij